+

निहत्था दूर्गा प्रसाईको विरोध किन?

२ भाद्र २०८२, सोमबार १५:२४
सुरेश आचार्य ।
दूर्गा प्रसाईले राजनीतिक दल खोल्ने भन्दा त्यसलाई मैले संवैधानिक अधिकार मानेको छु! यस कारण कसैले आफ्नो अधिकारको प्रयोग गर्छ भने मैले टाउको दुखाउनु किन? म यति अनभिज्ञ छुइन कि पार्टी दर्ता गर्ने दायित्व मेरो होइन, निर्वाचन आयोगको हो !
उनले आफू “राजावादी” नभएको बरू “राष्ट्रवादी” भएको प्रष्ट पारे ! उनले राजा ज्ञानेन्द्रलाई समेत “राजावादी” को रूपमा चिनेको नभई “राष्ट्रवादी” को रूपमा आफ्नो बुझाई रहेको पत्रकारहरूलाई सुनाएँ । मैले पनि आफूलाई “राष्ट्रवादी” नै ठान्छु, किनकि राजनीतिशास्त्रमा कुनै “राजावादी” सिद्धान्तलाई सैद्धान्तिकीरण (Theorisation) गरिएको मैले पढेका पुस्तकहरूमा भेटेको छुइनँ !
तर दूर्गा प्रसाईले वैदिक हिन्दू अधिराज्यको मान्यता राखिसकेपछि “अधिराज्य” (kingdom) मा राजसंस्था वा राजा नभई गणतन्त्र वा राष्ट्रपति रहन्छ भन्ने कसैले ठान्छ भने त्यो राजनीतिक बुझाई नै होइन । संसारका कुन “अधिराज्य” (kingdom) मा गणतन्त्र छ? तसर्थ, प्रसाईले गणतन्त्रलाई समर्थन गर्छ कसैले भन्छ भने मेरो भन्नु केही छैन । त्यसैले दूर्गा प्रसाईले राजसंस्थाको मान्यता छोड्यो भनेर झुठको खेती सुरू गरेकाहरूले उनीसँग उतर्सिएर दिलोज्यानले यस्तो नचाहिँदो “प्रपोग्याण्डा” (propaganda) सुरू गरिसकेका छन् ।
प्रसाईले राजा ज्ञानेन्द्र आफ्नो महाआन्दोलनमा सरिक हुन आए स्वागत (welcome) गर्ने तर यदि नआएमा पनि “राजा र भगवानलाई पुज्ने (worship गर्ने) परम्परा रहेकोले राजालाई पनि पुज्ने” कुरा बताउँदै राजासँग व्यक्तिगत रूपमा आफ्नो असहमति नरहेको स्पष्ट पारे । राजसंस्थाप्रति वा व्यक्तिगत रूपमा राजाप्रति मेरो पनि दूर्गा प्रसाईको जस्तै सदाशयता छँदैछ !
कसैले आफूलाई “राजावादी” भनेर चिनाउँछन् भने, त्यसमा पनि मेरो कुनै आपत्ति छैन । जसरी सहजै जनताले चिन्छन्, त्यसरी नै चिनाउँनु आआफ्नो अधिकारको कुरो हो !
नेपालको संविधानले मार्क्सवादी, लेनिनवादी, माओवादी, विपीवादी, पुष्पलालवादी, मनमोहनवादी, माझीवादी कसैलाई नचिने पनि ती शव्द र वाद प्रचलनमा छन् भने राजावादीले मात्र त्यो शव्द वा वादलाई प्रचलनमा ल्याउन नहुने भन्ने कुतर्क हो ! संविधानले गणतान्त्रिक शासन व्यवस्था हुने कुरा जनाए पनि राजा, श्री ५, राजसंस्था, राजावादी शव्दलाई प्रतिबन्ध लगाएको वा ban गरेको छैन ! त्यसकारण राजासँग गाॉसिएका वा त्यसका रूपान्तरण वा व्युत्पन्न शव्दहरूको प्रयोग गैरसंवैधानिक (unconstitutional) होइन !
दूर्गा प्रसाईले बॉकि जेजे कुरामा जो-जसलाई उनले आरोप वा प्रत्यारोप लगाए, त्यसको खण्डन उहॉहरूले नै गर्नु होला वा नहोला, त्यो मेरो सरोकारको विषय पनि होइन ! राप्रपाको सम्बन्धमा लगाएका प्रसाईका आरोप बारे पार्टीले कुनै आधिकारिक धारणा बनाएछ भने मैले त्यसपछि मात्रै बोल्नु परे, बोलौंला ! अहिले मलाई कसैले “प्रसाईको पार्टीमा जा” भनेर सल्लाह दिइरहन आवश्यक छैन !
यसर्थ, तत्कालै मैले दूर्गा प्रसाईलाई सराप्नु पर्ने कुनै कारण देख्दिन, किनकि उनले सहकारी ठगीविरूद्ध समेत ३ वर्ष अघिदेखि थालनी गरेको महाअभियानले मेरी ८८ वर्षिय आमालाई अब चाहीँ आफ्नो डुब्न लागेको निक्षेप सहकारीबाट फिर्ता आउला कि भन्ने ठूलो आस पलाएको छ ! उहॅा त दूर्गा प्रसाईको आन्दोलन सफल होस् भनी दिनदिनै कामना गर्नुहुन्छ । उहॉले कति पटक मलाई प्रसाईलाई “भेट्न लगिदे न बाबु” भनेको पनि लामै समय भइसक्यो ! मैले राजनीतिक कारणले आमाको ईच्छा समेत पूरा गरिदिन सकेको छुइनँ !
आजको पत्रकार सम्मेलनमा अर्थतन्त्र र वित्तीय क्षेत्रको अनु़शासनका लागि दूर्गा प्रसाईले प्रस्तुत गरेका एजेण्डा समग्रमा सही लागेको छ ! मैले पढेका अर्थशास्त्रका सिद्धान्त अथवा मौद्रिक वा वित्तशास्त्रका अवधारणहरूभन्दा उनका एजेण्डा फरक वा गलत छन् भन्ने मलाई लाग्दैन !
उनले अर्थतन्त्र र वित्तीय क्षेत्रमा छिटो पुनर्जागरण गराउने हो भने आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धि एवम् कृषि र उधोगमा व्यापक विकास एवं सुधार गर्ने कार्ययोजना थप्नु पर्ने मेरो राय छ ! बिगत ३५ वर्षमा नियोजित रूपमा यी क्षेत्रहरूलाई कमजोर पारिदैंलगेकाले नेपाल अहिले लगभग “Vassel State” को दर्जामा पुगिसकेको छ !