
भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
शनिबार (भदौ २१) आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम गरिएको बताए ।
तेस्रोपटक मिर्गौला प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएको उनले उल्लेख गरे । अब मिर्गौला प्रत्यारोपणका निम्ति नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए ।
यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री एवं सांसद लक्ष्मणकिशोर चौधरीमा तेस्रोपटक मिर्गाैला प्रत्यारोपण सम्पन्न गरी उनलाई शनिबार ‘डिस्चार्ज’ गरिएको डा. श्रेष्ठले जानकारी दिए ।
“सामान्यतया मिर्गाैला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गाैलाले काम गर्ने गर्दछ । तर, इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गाैला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ । तर, तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ,” उनले भने ।
उनले अगाडि भने, “प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।”
चौधरीमा पहिलो मिर्गाैला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो । ०७२ सालमा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा. पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो ।
चौधरीमा तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अंग साटासाट गरी गरिएको उनले जानकारी दिए ।
नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सन् २०१० मा गरिएको थियो । तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ ।
प्रत्यारोपण केन्द्र स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनामा सफल मिर्गाैला प्रत्यारोपण गरिएको छ । ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिएको केन्द्रले जनाएको छ ।