+

संकट निम्त्याएर भाग्ने अनि अहिले ठूला कुरा गर्ने ?

२६ भाद्र २०८२, बिहीबार ०५:१९

टिप्पणी । उज्यालो नेपाल ।
कायरहरु संकटमा भाग्छन । दुला पस्छन, सुतुरमुर्ग जस्तै । निरंकुश नालायकहरु बन्दुकको बलमा सत्ताको आयु लम्व्याउन खोज्छन, अनि लास्टमा आफैं कुलेलम ठोक्छन । सत्ता दम्भमा नागरिकका आवाज सुन्दैन्न र निरन्तर दमनमा उत्रन्छन । तर, जब नागरिक जाग्छन र सत्तामाथि औंला उठाउँछन, ती कायरता देखाउँदै ज्यान जोगाउन तल्लिन हुन्छन । सबथोक छाडेर भाग्छन, केपी ओली जस्तै ।

हो भनिरहनु पर्दैन, नेपालको अहिलेको सरकार शून्यताको स्थितिका सर्जक केपी ओली नै हुन । नेकपा एमाले र नेपाली काँग्रेसका नालायक नेतृत्वमण्डली नै हुन । केपी ओलीको निरंकुश सत्ता दम्भले भदौं २३ का दिनमा युवा विद्यार्थीमाथि गोली नदागेको भए, नयाँ बानेश्वर क्षेत्रलाई कुरुक्षेत्र नबनाएको भए, भ्रष्टाचार अन्त्य र शुसासन मागिरहेका जेनजी समुहमाथि बर्बर सामुहिक हत्याआतंक नमच्चाएको भए, अहिलेको यो सरकार शून्यता, राष्ट्रिय सम्पत्तिको अपुरणीय क्षती हुदैन्थ्यो । देश दोबाटोमा, शून्यता र सन्नाटामा पुग्दैन्थ्यो ।

किन की, २०८२ साल भदौं २५ गते मंगलवार मध्यान्हसम्म देश दलहरुकै जिम्मा थियो । सर्वशक्तिमान कार्यकारी प्रधानमन्त्री केपी ओली नै थिए । सत्ता काँग्रेस एमालेको नै थियो । देश जोगाउने जिम्मा तिनकै काँधमा थियो । जे थियो, नेपालको राजकीय सत्ता तिनकै हातमा थियो । संविधान, संसद, न्यायलय लगायत सबै राज्यप्रणाली ठिकठाक थियो । आफ्नो हातमा सबथोक हुदा ओलीको शति जाने महाभुल गरेर दलहरु चुके, फसे, सडकमा पुगे, अनि दला पसे ।

जसै ओलीले बन्दुकको नालबाट कलिला युवा विद्यार्थीको जीवन लिला समाप्त गरेर आफ्नो शासकीय महत्वाकाँक्षाको तुष्टि पुरा गर्ने असफल प्रयाश गरे, तब तिनको त दशा बढ्यो बढ्यो, देशकै दिशा र दशा बदलियो । अब, हिजोको सत्ताशक्ति र वैभवका हकदार कुनै दल र तिनका नेता रहेन्न । यही हो, यथार्थ, राष्ट्रिय राजनीतिको कटु सत्य ।

खासमा, एक सनकी, नालायक, दम्भी र निरंकुश चरित्रको शासकले क्षणभरमा देश बर्बाद पार्न सक्छ भन्ने ताजा र जीवन्त उदाहरण हुन, निवर्तमान भगौडा प्रधानमन्त्री केपी ओली । उनी जनहत्यारा प्रधानमन्त्रीको कलंक बोकेर आफू मात्र भागेन्न, देश नै रहने की नरहने गंभिर स्थितिमा राष्ट्रलाई शून्यतामा पुर्याएर ज्यान बचाउन लागे । यिनको अपराध कर्म र असक्षमतालाई शव्दहरुमा चित्रण गरीसाध्य छैन ।

आफू त डुबे डुबे, आफ्नै पार्टी एमाले, सत्तासहयात्री काँग्रेस, देशको संविधान, संसद, न्यायलय, व्यवस्था र प्रणाली नै डुबाएर भागे । अहिले केपी ओली सेनाको शरणमा पुगेर आफू बाँचे पनि उनले देश बचाएन्न । सिंहदरवार जलाएर गए, सर्वोच्च अदालतमा आगो झोसेर भागे । राष्ट्रपति भवन जलाएर भागे । संसद भवन खरानी बनाएर भागे । देश जति जल्यो, जहाँजहाँ जल्यो, त्यसका कारक, सूत्रधार र खलनायक के्पी ओली नै हुन । उनी मात्रै हुन ।

काँग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तिले कुटाई खानु परेको अमानवीय र कारुणीय दृश्यका कारक केपी ओली नै हुन । देशको धडकन रोकिएको जुन भयावय स्थिति बन्यो त्यसका सर्जक र शिलान्यसकर्ता नालायक केपी ओली नै हुन । उनको शासकीय बिफलता नै हो । उनको दमनकारी बन्दुके सत्ताको असफल दमन नै हो ।

केबल एक नालायक शासकको गल्तीको मार, भार र दण्डमा देश दण्डित भैरहेको हो अहिले । देश खण्डित पो हुने हो की भन्ने डिलमा पुगेको छ । नागरिक निषेधाज्ञाका बन्दी भएका हुन । राष्ट्रिय सम्पत्ति र सम्पदा खरानी भएका हुन । संविधानको धमनी रोकिएको हो । व्यवस्थाको अवसान भएको हो । जे जे भयो, सबै नहुनुपर्ने नै भयो, तर त्यो सबै नरसंहारकारी निवर्तमान सत्तानायक केपी ओलीकै आपराधिक खलनायकीका उपज हुन ।

अब, देशै डुबाएर सत्ता छाडेर भागेपछि केपी ओली आफ्ना कर्तुत र असक्षताको ढाकछोप गर्न शिवपुरीबाट जेनजीको नाममा जारी गरेका पत्र सन्देशहरु जो चोर उसैका ठूला स्वर भनेजस्तो मात्र हो । डढेको देशको खरानी उडाएर आफूलाई निर्दोस साबित गर्न खोज्ने निलो स्यालको रुप र चरित्रको चित्रण मात्र हो ।

अब, केपी ओलीको सदिच्छा र आर्शिवादले खरानी भएको ३० युवा, नागरिकको जीवनलिला फर्कदैन । दशैंका मुखमा शोकमा परेका ती तमाम बा आमाको खुसी, सपना र भविष्यको सोधभर्ना हुदैन । ध्वस्त न्यायलय, संसद र सरकार फर्किदैन । शास सकिएको संविधान र संसदको प्राण पनि भरिदैन ।

त्यसैले, भदौं २४ को राष्ट्रिय वितण्डामा क कसले मौकाको फाईदा उठाए भन्नेतिर विषयान्तर गरेर जनहत्यारा केपी ओलीको अक्षम्य अपराधलाई नजरअन्दाज गर्नु हुदैन । उनको दोषमा देश र नागरिकले भोग्नुपरेको दण्ड र क्षतीको लागि केपी ओलीलाई न्यायिक कठघरामा उभ्याउनु पर्छ । उनका भ्रामक देशभक्तीका हावादारी भुलभुलैयामा कोही पर्नु हुदैन ।

देश चलाउने जिम्मा पाएका उनले देश डुबाएर, डढाएर, युवा, विद्यार्थी, नागरिक मारेर भागेका हुन । उनी युद्ध अपराधीका रुपमा भोलि न्यायिक कठघरामा उभिन लायक निरंकुश पूर्वशासक बाहेक केही होईन्न । अबको उदाउने सत्ता र सरकारको प्राथमिक काम उनको अपराध कर्मको ग्राफ मुताबिक उनलाई विधिसम्मत दण्ड दिनुमात्र हुनेछ ।
अब, उठ्छ प्रश्न, काँग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माहरुले भदौं २५ मा जारी गरेकोे अपिल भदौं २३ गते मध्यान्हको बर्बर हत्याकाण्ड लगत्तै किन निकाल्न सकेन्न । तत्काल ठाउँको ठाउँ किन सरकार छाडेर हिडन पार्टीलाई भन्न सकेन्न ? काँग्रेसले १९ युवाको हत्यालगत्तै सत्ता छोडेर ओलीको निरंकुश सत्तादमनलाई रोक्न र प्रतिरोध गर्न सकेको भए भदौं २४ पोलिटिकल क्लाउड ब्रष्ट हुन्थ्यो र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा ज्यू ? मृत्युपछिको डाक्टर बन्ने अनि अब सबथोक यहाँहरुले भने मुताबिक भैदिनुपर्ने पनि हुदैन, सत्ताउन्मादले निम्त्याएको सत्ता सुनामीपछिको सन्नाटा र शून्यतामा । हुन्छ र ?

ईतिहासले जनहत्यारा, संविधान र व्यवस्था अनि राष्ट्रिय सम्पत्तिको बिनासक खलनायक ओलीलाई बनाउँदा किनाराको साँक्षि बनेको काँग्रेसलाई पनि मतियारका रुपमा दण्डित गर्छ नै । त्यसैले ओली सत्ताको निरंकुश दमनका मतियार भएबापत काँग्रेसले पनि दिने तहमा हुदा सिन्को नभाचेकोले अहिले मागेर मात्रै केही हुदैन । केही समय कुनु नै उत्तम हुनेछ ।

बाँकी रहयो, अबको निकास । अबको निकास सेनाको समन्यवयमा सबै आन्दोलित, असंतुष्ट र निराश जनताको प्रतिनिधत्वका आधारमा हुनुपर्छ, हुन्छ नै । दलहरुले ओलीसत्ताको करारी पराजयसंगै आफूमा रहेको शक्ति र सार्मथ्य सेनाको हातमा सुम्पिसके ।

सेनाले खोसेको हैन, भ्रष्ट, नालायक, निरंकुश ओलीले सत्ताशून्यतामा देशलाई पुर्याएर सेनाको हातमा देशको बागडोर सुम्पकेको हो । अहिले सेनालाई शंका र अविश्वास गरेर देश बच्नेवाला छैन । सेनाले आन्दोलित जेनीजी मात्रै हैन, अब पूर्व राजा, विप्लव, दुर्गा प्रसाई, रास्वपा,लगायत सबैको भावना बुझेर नै नयाँ सरकार र सत्ता निर्माण तथा निकासको पहल गर्नुपर्छ ।

यो बेला जो शक्ति छुट्नेछ वा छुटाईने छ, त्यो अर्को विद्रोहको शिलान्यास हुनेछ । काँग्रेस, एमाले, माओवादी, मधेशवादी तथा अन्य जो जो दल ओलीको सति गए तिनले अब केही समय सेनालाई साथ दिएर अघि बढ्न र आफ्ना सुदिन फर्काउन प्रतिक्षा गर्नुको विकल्प छैन ।

किन की नालायक ओलीले संविधान, व्यवस्था र देश डुबाएर भाग्दा रमिते बनेका काँग्रेस, एमाले, माओवादी वा अन्य दलले अब हातको अधिकार गुमाईसके । मौकामा चौका हानेर ओली अन्याय विरुद्ध समयमै प्रतिरोध नगर्दा तिनले पनि देश डुबाउने, संविधान सिध्याउने र व्यवस्था ढाल्ने मतियारमा आफूलाई अनिर्णयको बन्दी बन्दै चित्रण गरिसके । तीतो सत्य यही हो ।
थप यो पनिः

हत्यारा ओली सत्ता हटाउन जितेको जेनजीले जेल खाली र देश खरानी बनाएर के जित्यो ?