
“स्वतन्त्र नागरिक समूह-नेपाल”
हामी स्वतन्त्र नागरिक समूह–नेपाल, देशको कुनै पनि राजनीतिक विचार, आस्था वा दलगत आबद्धताबाट टाढा रहेको स्वतन्त्र र गैर–राजनीतिक समूह हौँ। हाम्रो मूल उद्देश्य दलतन्त्रको प्रभुत्व, संस्थागत भ्रष्टाचार र असामान्य दलगत हस्तक्षेपका विरुद्ध स्वतन्त्र, देशभक्त र सचेत नागरिकहरूको साझा आवाजलाई सबल र संस्थागत बनाउनु हो।
विगत लामो समयदेखि नेपालका राजनीतिक दलहरूले शासन सत्ता कब्जा गर्दै प्रशासन, संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा समेत दलगत हस्तक्षेपलाई गहिरो बनाएका छन्। यस्ता अभ्यासले सुशासन कमजोर भएको छ, भ्रष्टाचार बढेको छ, जनताको अधिकारमाथि दमन भएको छ र सर्वसाधारण नागरिक निराश बनेका छन्। यही कारणले गर्दा देश निरन्तर अस्थिरता र अन्योलको चपेटामा परेको छ।
हालैको जेन–जी आन्दोलनले नेपाली युवापुस्ताको आक्रोश र आवाजलाई अझ स्पष्ट रुपमा विश्वसामु उजागर गर्यो। शान्तिपूर्ण तर ऐतिहासिक आन्दोलनका रूपमा यसले दलगत भ्रष्टाचार, दमन र असमान व्यवहारविरुद्ध विद्रोहको स्वर बन्यो। यस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई अझ सुदृढ बनाउनुपर्ने जिम्मेवारी केवल युवापुस्ताको मात्र नभई जेन–एक्स, जेन–वाईसहित सम्पूर्ण नेपालीहरूको साझा दायित्व बनेको छ।
यस सन्दर्भमा, यहि असोज ७ गते राजधानी बाहिर तथा विभिन्न देशहरुमा रहेका स्वतन्त्र नेपाली नागरिकहरुको भर्चुवल बैठक र असोज ८ गते चक्रपथ, काठमाडौंमा औपचारिक र प्रत्यक्ष बैठक बसी विभिन्न स्वतन्त्र नागरिक समाजका अगुवाहरु तथा स्वतन्त्र नागरिक समूह–नेपालले आज पत्रकार सम्मेलनमार्फत आफ्ना माग, दृष्टिकोण र आगामी योजनाहरू सार्वजनिक गरेको छ,
हाम्रो प्रमुख निर्णय र मागहरू
1. स्वतन्त्रहरूको दोस्रो राष्ट्रिय सम्मेलन: आगामी कार्तिक २१, २२ र २३ गते (स्थल घोषणा पछि) राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। यसमा देशभरका स्वतन्त्र नागरिक, विज्ञ, सामाजिक अभियन्ता र युवापुस्ताको सहभागिता रहनेछ। सम्मेलनमार्फत वर्तमान राजनीतिक संकट, सुशासन, पारदर्शिता र दीगो विकासका लागि वैकल्पिक नीति तथा रणनीतिहरूमाथि बहस हुनेछ।
2. राजदूतहरूको तत्काल फिर्ता: विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूमार्फत गरिएको कूटनीतिक नियुक्तिहरूले नेपालको परराष्ट्र नीति र राष्ट्रिय स्वार्थलाई गम्भीर क्षति पुर्याएको छ। अतः दक्षता र योग्यता नभएका दलगत नियुक्तिहरूलाई तुरुन्त फिर्ता बोलाई पारदर्शी अनुसन्धान गरिनुपर्छ।
3. दलगत संगठनहरूको खारेजी: राज्य र सार्वजनिक सेवामा प्रभाव पार्ने सबै दलगत संगठनहरूको विधिवत् खारेजी प्रक्रियालाई सुरु गरियोस्। यसले मात्र सुशासन र नागरिक सेवामा पारदर्शिता कायम गर्न सक्छ।
4. स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको सुनिश्चितता: स्थानीय शासन स्वतन्त्र (दलविहिन) जनप्रतिनिधिहरूमार्फत पारदर्शी र स्वतन्त्र बन्नुपर्छ। त्यसका लागि संवैधानिक तथा प्रशासनिक सुधार तत्काल आवश्यक छ।
5. संवैधानिक नियुक्तिहरु तत्काल खारेजि र प्रणाली सुधार: हालसम्म भएका दलीय भागबण्डामा गरिएका सबै सम्वैधानिक नियुक्तिहरु तत्काल खारेजी गर्दै दलगत भागबन्डा अन्त्य गरी योग्यता, क्षमता, पारदर्शिता र स्वतन्त्रतामा आधारित नयाँ व्यक्तिहरु नियुक्त गर्न र सम्पूर्ण प्रणाली नै सुधार गर्नुपर्छ।
6. जेन–जी आन्दोलनमाथिको दमनका दोषीलाई कारबाही: आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको हिंसा र दमनमा संलग्न व्यक्तिहरूलाई निष्पक्ष अनुसन्धान गरी तत्काल कानूनी कारबाही गरिनुपर्छ।
7. घाइते र अपाङ्ग नागरिकलाई आजीवन संरक्षण: आन्दोलनमा घाइते वा अपाङ्ग भएका युवाहरूको उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ।
8. भ्रष्टाचार विरुद्ध कठोर कदम: प्रणालीगत र उच्चस्तरीय भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई द्रुत, पारदर्शी र प्रभावकारी कानुनी कारबाहीमा ल्याइयोस्।
9. प्रदेश सरकार विघटन र स्वतन्त्र नागरिक सरकार गठन: वर्तमान प्रदेश सरकारहरूले विफलता मात्र देखाएका छन्। त्यसैले तत्काल प्रदेश सरकार विघटन गरी अस्थायी स्वतन्त्र नागरिक नेतृत्वमा पारदर्शी शासन व्यवस्थाको आधार निर्माण गर्नुपर्छ।
10. स्थानीय जनप्रतिनिधिहरूलाई अविलम्ब फिर्ता बोलाउने: देश आम निर्वाचनको तयारीतर्फ अघि बढिसकेको सन्दर्भमा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले आफ्नो दलको स्वार्थअनुसार सरकारी स्रोत र सम्पत्ति दुरुपयोग गर्ने सम्भावना उच्च छ। यसले निर्वाचनको निष्पक्षता र परिणाम प्रभावित गर्न सक्ने भएकाले हाल निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई तत्काल फिर्ता बोलाइनुपर्छ।
अन्तमा-
हामी सबै सरोकारवालाहरू, लोकतान्त्रिक संस्थाहरू, नागरिक समाज, र अन्तर्राष्ट्रिय साझेदारहरूलाई नेपालमा देखिएको यो गम्भीर अवस्थाप्रति संवेदनशील बन्न र समुचित कदम चाल्न आह्वान गर्दछौं।
स्वतन्त्र नागरिक समूह–नेपालको मूल उद्देश्य भनेको जनआवाजलाई मर्यादित, पारदर्शी र प्रभावकारी माध्यमबाट उठाउनु हो—जसबाट समृद्ध, सुशासनयुक्त र दिगो नेपालको निर्माण सम्भव हुनेछ। जय होस !
डम्बर शाहु – संयोजक, स्वतन्त्र उम्मेदवारी अभियान
अभिषेक घिमिरे – संयोजक-बृहत राष्ट्रिय शिक्षा अभियान नेपाल
दिनेश सुबेदी – संयोजक, नेपाल स्वतन्त्र नागरिक संजाल
हरिशरण लामिछाने – सामाजिक अभियान्ता
डा.दिपेश के सी – संयोजक, जाग नेपाली अभियान
गणेश कुमार मण्डल – संयोजक, मधेश नागरिक समाज
डा.बिरबंष बैठा – संयोजक, स्वतन्त्र मधेश मंच
डा.भरत थापा – संयोजक, स्वतन्त्र बौद्दिक तथा आर्थिक मंच
संगीता थापा – संयोजक, जेन जी- नेपाल
लब प्याकुरेल – संयोजक, स्वतन्त्र जेन-एक्स अभियान
सफलता बोगटी – संयोजक, स्वतन्त्र महिला मंच
नर बहादुर कार्की – लाईफ कोच तथा सामाजिक अभियान्ता
आर.पी महतो – सामाजिक अभियानता
एस पी शाह – सामाजिक अभियान्ता
(प्रेस विज्ञप्ति
मिति-२०८२ असोज ९ गते
विषय: भ्रष्टाचार, दलगत प्रभाव र संवैधानिक अपाङ्गताका विरुद्ध आवाज — आवश्यकीय कदम तथा आगामी कार्तिक २१, २२ र २३ मा स्वतन्त्र नागरिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनको घोषणा)