+

हाम्रो नियति अफगानिस्तान वा सिरिया, इराक वा लिविया, सुडान वा इथोपिया भन्दा उच्चकोटीको हुने छैन !

१० कार्तिक २०८२, आईतवार ०४:२४

सुरेश आचार्य ।

भूराजनीतिमा दक्षिण एसिया क्षेत्र नै क्रमशः “हटस्पट” भइरहेछ।हामी नेपालीले दॉयाबायॉ नहेरी आन्तरिक समस्या तत्काल मिलाएनौं भने देशले स्वाधीनता गुमाउन सक्छ ! बागराम, आराकान, लिपुलेक, क्याच्फ्यूमा के भइरहेछ? चीन-भारत किन नजिकिएका छन्! चीन र भारत नेपालमा “आन्तरिक स्थिरता” चाहन्छन्! दुवै देशसँग मित्रवत् सन्तुलन मिलाउने नेतृत्व अहिले नेपालमा स्थापित गर्न सकिएन भने हाम्रो स्वाधिनता हामी अप्ठ्यारोमा पर्ने निश्चित छ । अन्तरराष्ट्रिय मामिला र कूटनीति निर्मम हुन्छ, कसैले कसैले न इतिहास हेर्छ, न त भविष्य नै हेर्छ, कुनै पनि देशले हेर्ने आफ्नो, फगत आफ्नो राष्ट्रिय स्वार्थ हो । तर, हामी नेपाली नजिकका देवतालाई हेला गर्ने, आफ्नो स्वार्थका लागिभन्दा अरूको स्वार्थमा रमाउने जाती पऱ्यौं, यो पनि हाम्रो ठूलो समस्या नै हो ! जसरी अफगानिस्तानको बागराम हवाई अड्डा बिगत दुई दशक अघिदेखि अमेरिकी सेनाले प्रयोग गर्दैआएकोमा अमेरिकी समर्थक राष्ट्रपति असरफ घानीलाई सशस्त्र युद्धद्वारा तालिबानी जहादीले भगाएपछि अमेरिकाले पनि ४ वर्षअघि बागराम हवाई अड्डा मात्र होइन अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गरेको स्मरणीय छ ! तर केही हप्ताअघि पश्चिम चीनको सिमाको निकट रहेको बागरामको भूराजनीतिक महत्वलाई ध्यानमा राखेर अमेरिकी राष्ट्रपति ट्रम्पले पुन बागराममा अमेरिकी सैन्य उपस्थित रहनु पर्ने संकेत गरेपछि चीन, भारत र रसियाको कूटनीतिक सैन्य वृत्तमा हलचल ल्याएको थियो ! अमेरिका-चीन व्यापार युद्ध चलिरहेको सन्दर्भ, बंगलादेशमा शेख हसिनाको सत्ता पलट, बंगलादेश र म्यान्मारबीचको अराकान राज्यको गठनका लागि भइरहेको गुरिल्ला युद्धमा तीब्रता, भारत-पाकिस्तान युद्ध, भारतको राष्ट्रिय सुरक्षाका लागि नेपाल र बंगलादेशको बीचमा रहेको औसत २२ किमी चौडाईको “चिकेन नेक” बिस्तार गरी कम्तिमा डब्बल चौडाई बनाउनु पर्ने भारतीय रक्षाविद्हरूमा नयॅा school of thought को जन्म, उत्तरपूर्वी भारतीय राज्यहरूमा हिन्दू, बौद्ध, इस्लामको पकड कम गर्न तीब्र ईशाइकरण र दक्षिण भारतमा हिन्दी भाषा विरूद्धको प्रतिबन्ध तथा भारत र चीनको रणनीतिक क्षेत्र लेहमा एकाएक सशस्त्र विद्रोह हुनुका बीच आन्तरिक विद्रोहबाट ग्रस्त म्यान्मारको समुद्री बन्दरगाह क्याच्फ्यूमा हिन्द महासागरमा मेरिटाइम व्यापारका लागि चीनको पहुँचको तीब्र आकांक्षा लगायत भारतसँग सुल्झिनु सट्टा थप चीनसँग समेत बल्झेको नेपालको लिपुलेक सिमा समस्या र अन्ततः विशाल अमेरिकी धनराशी लगानी भएको इन्डो प्यासिफिक रणनीतिक साझेदारी (Indo Pacific Strategic Partnership) मा यूक्रेन युद्ध र अमेरिकी ट्यारिफ कूटनीति पछि उक्त रणनीतिको मुख्य साझेदार भारत रसिया र चीनसँग नजिकिदै RICE बनाउने दिशातर्फ उन्मूख हुने संभाव्यता जस्ता विकसित घटनाक्रमहरूले पूरै दक्षिण एसियामा बडाशक्ति राष्ट्रहरू (The Great Power) बीच भित्र र बाहिरी रूपमा प्रतिस्पर्धा र प्रोक्सी वार चलिरहेको देखिन्छ ।

हामी नेपालका नीति निर्माता, राजनीतिक नेतृत्व र परिवर्तनकारी शक्तिहरूले आफ्नो घरलाई व्यवस्थित (order of house) वा कायम गर्नुभन्दा त्यसमा अझ अव्यवस्था बढाएर धेरै आन्तरिक  खेल खेलिरहनु नेपाल र नेपाली जनताको दीर्घकालिन हितमा छैन । राजा ज्ञानेन्द्रले २०८१ फागुन ७ गतेको चर्चित सन्देशमा त्यसै हावामा वा सत्ता लोलुपताका कारणले “देश बचाउने हो भने मलाई साथ दिनोस” भनी नेपाली जनतालाई अनुनय गरेको होइन । अरूलाई देशको माया भए पनि नभए पनि देश एकीकरणका वंशज राजा ज्ञानेन्द्रलाई त आफ्ना वंशजले स्थापना गरेको मुटुभित्रैदेखि माया छ नि ! अब नेपालका नवीनतम् स्टेकहोल्डर्सहरू लगायत राजनीतिक दलहरूले “राजा ज्ञानेन्द्रलाई पुनर्स्थापित गर्ने वा नगर्ने भन्दा पनि देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्थायीत्वका सर्वपक्षीय सहमति कायम गराउने पहल तत्काल सुरू गर्नु पर्छ । यदि, देश नरहे नरहोस, तर राजा ज्ञानेन्द्रलाई पुनर्स्थापित गरिदैन भन्ने सोंच राख्ने हो भने उनीहरूले भूराजनीतिक चक्रव्यूहमा कसरी देश जोगाउने हो, त्यसबारे अन्धकारभित्र लुकेर होइन, उज्यालोमा पारदर्शी ढंगले नेपाली जनता जनार्दनलाई आश्वस्त पार्न ढिलो भयो ।

हामी नेपाली नेतृत्व, नीतिनिर्माता र परिवर्तनकारी शक्तिहरूले के पनि बुझ्न जरूरी छ भने हाम्रो आन्तरिक राजनीतिकै बिस्तारित रूप परराष्ट्र सम्बन्ध र अन्तराष्ट्रिय कूटनीति हो ! हाम्रो सानो गल्तीले हाम्रा भावी पुस्ताले यो देश संग्लो र स्वाधीन देख्न नपाउने प्रष्ट लक्षणहरू देखापरिसकेका छन् । रोगी आफ्नी आमालाई उपचार नगरेर झड्केली आमालाई मात्रै आशक्ति देखाउने प्रवृत्ति हामीले तत्काल छोड्नु पर्छ ! हाम्रा नीतिनिर्माता र नेतृत्वले यस्ता यस्ता भीमकाय गल्ती गरिसक्यौ, अब पनि सच्चिएनौ भने मुलुक गृहयुद्धको चपेटमा जाने टड्कारो परिस्थिति खडा भइसकेको छ। बाह्य चलखेल र हस्तक्षेप बढेपछि हाम्रो नियति अफगानिस्तान वा सिरिया, इराक वा लिविया, सुडान वा इथोपिया भन्दा उच्चकोटीको हुने छैन !
(साभारः आचार्यको फेसवुकबाट।)