+

HISSAN र TULBTRC बिच समझदारी पत्रमा हस्ताक्षर

१९ माघ २०८२, आईतवार १२:३८

काठमाडौं – उच्च शिक्षालय तथा माध्यमिक सङ्घ नेपाल (Higher Institutions and Secondary Schools Association Nepal, HISSAN) र त्रिभुवन विश्वविद्यालय लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र (T.U. Lions Blood Transfusion and Research Centre, TULBTRC) बिच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारी पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ ।

मिति २०८२ साल माघ १६ गते काठमाडौं स्थित Capital College and Research Centre (CCRC) मा आयोजित रक्तदान तथा MoU Signing कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । केन्द्रका तर्फबाट अध्यक्ष डा. राजेन्द्र गिरि र हिसानका तर्फबाट अध्यक्ष श्री युवराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा हिसानका तर्फबाट अध्यक्ष श्री युवराज शर्मासहित उपाध्यक्ष श्री हरिचन्द्र लामिछाने, महासचिव श्री रामहरि सिलवाल लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, केन्द्रका तर्फबाट अध्यक्ष डा. राजेन्द्र गिरि सहित पूर्व अध्यक्ष श्री रुद्रहरि ज्ञवाली, कार्यसमिति सदस्य श्री किशोर भट्टराई, मेडिकल डाइरेक्टर डा. विपिन नेपाल, तथा कार्यवाहक जनरल म्यानेजर श्री कोमल अधिकारीको उपस्थिति रहेको थियो ।

समझदारी पत्रका मुख्य उद्देश्यहरू अन्तर्गत हिसानमा आबद्ध शैक्षिक संस्थाहरूमा नियमित, योजनाबद्ध तथा दिगो रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, रक्तसञ्चारसम्बन्धी सचेतनामूलक तथा जागरण कार्यक्रम आयोजना गर्ने, विद्यार्थीहरूलाई स्वयंसेवी सामाजिक कार्य तथा On-the-Job Training (OJT) कार्यक्रममा समावेश गर्ने विषयहरू समेटिएका छन् ।

यसै गरी, रक्तदान कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, सामग्री, रक्त सङ्कलन, परीक्षण, ढुवानी तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी केन्द्रले लिने व्यवस्था समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारी पत्र सम्पन्न भएकै दिन CCRC कलेज, बालकुमारी, काठमाडौंमा पहिलो संयुक्त रक्तदान कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ९१ जना रक्तदाताहरूले स्वैच्छिक रूपमा रक्तदान गर्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउन CCRC कलेजका विद्यार्थी क्लबहरूले स्थानीय समुदायलाई समेत समेट्दै रक्तदानको अघिल्लो दिन र्‍याली मार्फत रक्तदानका लागि आह्वान गरेका थिए । कार्यक्रमको सम्पूर्ण समन्वय कलेजका तर्फबाट उप–प्राचार्य श्री दीपक उपाध्यायले गर्नुभएको थियो ।

समझदारी पत्रको अवधि तीन वर्षको रहने प्रावधान गरिएको छ । आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, अनुसन्धान, आर्थिक सहयोग तथा सामाजिक क्षेत्रमा समेत सहकार्य विस्तार गर्दै सुरक्षित, नियमित र गुणस्तरीय रक्त आपूर्ति सुनिश्चित गर्ने दुवै संस्थाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको अन्त्यमा CCRC कलेजका तर्फबाट उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै समझदारी पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमको सफल आयोजना तथा प्रभावकारी सहकार्यका लागि त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रले HISSAN तथा CCRC कलेज प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।