निर्वाचन अघि एक पटकको नेपाली सधैको नेपाली भन्ने मान्यतालाई आत्मासात गरी घोषणा पत्रमा समेत प्रतिवद्धता जनाएको रास्वपा नै नयाँ सरकारको नेतृत्वमा जाने पक्का भएपछि प्रवासी नेपालीहरुको नागरिकता निरन्तरताको माग सम्वोधन होला की भन्ने ग्रीन सिग्नल देखिएको छ । प्रवासी नेपालीहरुले चलाएको नागरिकता खोई अभियानलाई रास्वपाको बालेन साहले बनाउने नयाँ सरकारले कार्यान्वयन गरेमा देशभित्र प्रवासी नेपालीको सीप, पैसा र प्रविधि भित्रिने र देश विकासमा कायापलट ह’ने संभावना बढेको छ ।
नगरिकताको निरन्तरता लागि नागरिकता खोई ? अभियानले सार्थक परिणाम पाउने संभावना बढेको छ । हालै सम्पन्न आम निर्वाचनमा करीब २ तिहाई जितेर सत्तासिन भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकताको निरन्तरतालाई समेटेर तयार गरेको निर्वाचन वाचा पत्र अब नयाँ सरकारसंगै कार्यान्वयनको चरणमा प्रवेश गर्ने संकेत देखिएको छ । पहिलो पट्क २ तिहाई बह’मतको सरकार बनाउदैं गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अगावै वंशजको नागरिकताको निरन्तरताका लागि नागरिक करार गरेको छ । अब निर्वाचन अघिको करार कार्यान्वयन गर्ने ठाउँमा रास्वपा जादैछ । नेपाली नागरिकताको निरन्तरता विदेशमा वस्ने नेपालीको प्रमुख मुद्दा हो । प्रवासी नेपालीको विषयलाई अगाडी वढाउने रास्वपाको प्रतिवद्धता कार्यान्वयनका लागि जनादेश पनि मिलेको छ ।
विदेशमा वस्ने नेपालीको वंशज नागरिकता निरन्तरताका लागि नागरिकता खोई अभियानका संयोजक बासुदेश घिमिरे रास्वपाले देशको हित र विदेशमा वस्ने नेपाली दुवैको भावना वुझ्न सकेको वताउदै नयाँ सरकारबाट आशावादी देखिन्छन । दुई बर्षदेखी वंशजको नागरिकता निरन्तरता हुनुपर्छ भनेर चिच्याईरहेको प्रवासी नेपालीको माग रास्वपाले निर्वाचन घोषणा पत्रमा समेटेर विदेशिएका सबै नेपालीको मन पहिल्यै जितिसकेको थियो । अहिले उही वाचा कार्यान्वयनको जनादेश पनि रास्वपालाई नै मिलेपछि सबैतिर आशाको संचार भएको छ ।
नागरिकता खोई अभियानले वंशजको नागरिकता निरन्तरताका लागि विगत दुई वर्ष देखी लविगं गर्दै आएको थियो । राजनीतिक पार्टीका नेता, नागरिक समाज, मिडियमा पटक पटक यसले देशलाई फाइदा हुने जानकारी दिदैं आएको थियो । यो मुद्दा विदेशमा वस्ने नेपालीको भन्दा पनि देशको आर्थिक विस्तारका लागि अत्यावश्यक भएको उक्त अभियानले साझा सहमतिका लागि दबाब दिदै आएको छ ।
अमेरिका युरोप, अष्ट्रेलिया वस्ने नेपालीले त्यहांको बसाईलाई सहज र सरल बनाउन विदेशी नागरिकता लिदैं आएका छन् । तर, नेपाली नागरिकता त्यागेका थिएनन । पुराना राजनीतिक पार्टी नेताको अनुदार सोचका लागि यसरी वाध्यतावश नेपाली नागरिकता लिने वंशजको नेपालीलाई विदेशी वनाईएको थियो । वंशजको नागरिकको नागरिकता अघिल्ला सरकारहरुका अद’रदर्शी निर्णयका कारण अकारण नै खोसिएको अवस्था थियो ।
विदेशमा गएका नेपालीलाई नेपाल फर्काएर ल्याउन आवश्यक भएको अवस्थामा अब रास्वपा सरकारले प’राना सरकारको गलत निर्णय सचच्याउने र प्रवासी नेपालीको मन जित्ने अवसर पाएको छ ।
स्मरणीय छ, राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावका लागि सार्वजनिजक नागरिक करारको पांचौ बुंदामा प्रवासको विषय समेटेको छ । उक्त करारमा आजको अवस्था भन्दै लेखिएको छ विश्वव्यापी नेपाली माग पुंजीको खण्डित उपयोग, प्रवासी नेपालीको मताधिकार शुन्य, गैर आवासीय नागरिकताको फितलो कार्यान्वयन । रास्वपाले भनेको छ विदेशमा वस्ने नेपालीहरुलाई अनलाइन मताधिकार, वंशजको नागरिकताकोे निरन्तरता, सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन, सरक्षित लगानी,सम्मानित देश फिर्ताको वातावरण,मर्यादित बैदेशिक रोजगारी । यसरी रास्वपाले विदेशमा वस्ने सवै नेपालीको मुद्दा सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ । जुन विदेशमा वस्ने नेपालीको मुख्य माग थियो ।
त्यसो त नयाँ संसदमा सबभन्दा सानो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि वंशजको नागरिकतालाई निरन्तरता दिने मुद्दालाई स्विकार गरेको छ। राप्रपाको संकल्पमा वंशजको नागरिकताको निरन्तरता एक पटकको नेपाली संधैको नेपाली उल्लेख छ । कांग्रेसले पनि घोषणा पत्रमा यो मुद्दालाई निर्वाचन घोषणा पत्रमा समेटेको छ ।
यस पटक रास्वपाको २ तिहाईको शक्तिशााली सरकार बन्ने भएकै कारण यो माग सम्वोधनको प्रारम्भ बन्न गएको छ । यसले विदेशीएका नेपालीले सीप, पैसा, प्रविधि एकैपटक नेपाल ल्याएर देशको समग्र विकासमा य’गान्तकारी योगदान गर्न सक्छन । तर, अब बल नयाँ बालेन सरकारको कोर्टमा गएको छ । जसको एक्सन हेर्न भने केही समय पर्खन आवश्यक छ ।


