+

एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल तयार हुँदै

४ बैशाख २०८३, शुक्रबार १२:५४

काठमाडौं। काठमाडौं जिल्ला प्रहरी परिसरले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि चैत्र मसान्तसम्म गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरले असोजदेखि ६-७ महिनाको अवधिमा भएका कार्य सम्पादन गर्नकासाथै समिक्षा गरेको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले असोजदेखि चैत्रसम्म ५ हजार ५ सय ६६ वटा मुद्दाहरु दर्ता भएको र त्यसमध्य ४ हजार २ सय ७९ व्यक्तिहरु पक्राउको दायरामा रहेर अभियोजन र न्यायनिरुपणको क्रममा रहेको जानकारी दिए।

उनले भने,‘५ हजार ५ सय ६६ वटा मुद्दाहरु दर्ता भएका छन्। त्यसमध्य ४ हजार २ सय ७९ व्यक्तिहरु पक्राउको दायरामा रहेर अभियोजन र न्यायनिरुपणको क्रममा हुनुहुन्छ। काठमाडौं जिल्ला प्रहरी परिसरले मात्रै दैनिक ५० देखि ५५ वटा जायरीहरु लिएर अनुसन्धान सुरु गरेको छ।’

त्यस्तै उनले काठमाडौं अर्को ट्रेन्डिङमा देखिएको अपराधमध्य साइबर क्राइम भएको भन्दै यस अवधिमा १३ सय ३० वटा उजुरी प्राप्त गरेको बताए।

‘काठमाडौं अर्को ट्रेन्डिङमा देखिएको अपराधमध्य एउटा साइबर क्राइम हो। यस अवधिमा हामीले १३ सय ३० वटा उजुरी प्राप्त गरेको छौं। अनलाइन सपिङमा ठगी सबैभन्दा ठूलो छ,’ उनले भने।

उनको अनुसार घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको छ। पछिल्लो ६ महिना काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको उजुरी आएको उनले जानकारी दिए।

उनले भने ,‘पहिला महिला मात्रै घरेलु हिंसामा भन्ने सुनिन्थ्यो। तर हामी कहाँ पुरुष व्यक्ति पनि हिंसामा परेको भन्दै उजुरी आउने क्रम बढेको छ। यस अवधिमा काठमाडौंमा मात्रै ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको उजुरी दिएका छन्।’

त्यस्तै ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन्।

त्यस्तै उनले १ हजार ९७ जना गुण्डागर्दीमा संलग्नहरुको प्रोफाइल तयार पारेको पनि जानकारी दिए।

‘कुनै पनि घट्नामा संलग्न भएका,संलग्न हुनसक्ने, उजुरी परेका, रेकर्डमा रहेका र आशंका गरिएका र हाम्रो अनुसन्धानको दायरामा रहेका एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरेको छौं,’ उनले भने।