काठमाडौं। मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईंले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले एसपीपी र एमसिसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरेका हुन्। उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिएका छन्।
उनले सरकारसँग क्याबिनेटबाट निर्णय गरेर हिन्दु राष्ट्र पुनः स्थापना गर्नसमेत माग गरेका छन्। ‘सरकारलाई के भन्छु भने क्याबिनेटबाट निर्णय गरेर हिन्दु राज्य कायम गरियोस्। तपाईंहरूसँग बहुमत छ, निर्णय गर्नुस,’ उनले भने।
प्रसाईंले राजसंस्था पुनःस्थापनाको मागसमेत अघि सारेका छन्। उनले भने, ‘हिन्दु राष्ट्र ल्याइदिनुस राजसंस्था ल्याइदिनुस्। यदि यस्तो निर्णय हुन्छ भने चुनाव नै आवश्यक पर्दैन, म सडकमा उभिन्छु।’
त्यस्तै उनले सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि राखेका छन्। विवादित विषयहरू मिलाएर मात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ छ। ‘पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऔँ, नमिलेका कुरा मिलाऔँ अनि मात्र चुनावमा जाऔँ भन्ने मेरो धारणा थियो,’ उनले भने, ‘तर हतारमा चुनाव गराइयो।’
उनले अहिलेको राजनीतिक अवस्था प्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरेका छन्।


