+

युद्धविराम कायम राख्न इजरायल–लेबनान दुवै पक्ष प्रतिबद्ध हुनुपर्ने : हिज्बुल्लाह प्रमुख

६ बैशाख २०८३, आईतवार ०५:१३

हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन् । उनले युद्धविराम प्रभावकारी बनाउन लेबनानविरुद्ध हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, लेबनानी भूमिबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग समेत राखेका छन् ।

कासेमका अनुसार आगामी चरणमा बन्दीहरूलाई रिहा गर्ने र सीमावर्ती क्षेत्रका विस्थापित नागरिकलाई घर फर्काउने प्रक्रिया अघि बढाउनुपर्नेछ । त्यसपछि अरब राष्ट्रहरूको सहयोगमा व्यापक पुनर्निर्माण कार्य सञ्चालन गरिनुपर्ने उनले उल्लेख गरे ।

उनले युद्धविराम एकतर्फी हुन नसक्ने स्पष्ट पार्दै उल्लंघन भएमा प्रतिरोधी समूहले जवाफ दिने चेतावनी दिए । ‘युद्धविराम भनेको सबै प्रकारका शत्रुताको पूर्ण अन्त्य हो,‘ उनले भने, ‘दुवै पक्षले पालना नगरेसम्म यो टिक्दैन ।’

यस्तै, उनले लेबनान सरकारसँग सहकार्य गर्दै राष्ट्रिय सार्वभौमिकता सुदृढ गर्ने र आन्तरिक द्वन्द्व रोक्ने दिशामा अघि बढ्न तयार रहेको पनि बताए । यसैबीच इस्लामीक रिभोलुस्नरि गार्ड र्कोप्स (आईआरजीसी) ले तनावबीच स्ट्रेट अफ हर्मुज बन्द गर्ने घोषणा गरेको छ ।

आईआरजीसीले अमेरिका र इजरायलसँग भएको युद्धविराम उल्लंघन भएको आरोप लगाउँदै यस्तो निर्णय लिएको जनाएको छ । आईआरजीसीले अमेरिकी पक्षले इरानी जहाज र बन्दरगाहमाथिको नाकाबन्दी नहटाएको भन्दै हर्मुज जलडमरूमध्य अनिश्चितकालका लागि बन्द रहने चेतावनी दिएको छ । साथै, उक्त क्षेत्रमा प्रवेश गर्ने जहाजलाई ‘शत्रुसँग सहकार्य’ ठहर गरी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

यसअघि इरानले सीमित क्षमताका कारण नयाँ नियमअनुसार शुल्क तिर्ने जहाजलाई प्राथमिकता दिने जनाएको थियो । उता अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले अमेरिकामाथि दबाब सिर्जना गर्न नसक्ने चेतावनी दिँदै क्षेत्रीय तनाव थप चर्किएको संकेत गरेका छन् ।