+

सहज सडकमार्ग नहुँदा ओझेलमा पर्दै ‘चमेरे गुफा’

१० बैशाख २०८३, बिहीबार २२:१०

दाङ। वैशाखः जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटस्थित सिद्द चमेरे गुफासम्म पुग्ने सडकमार्ग सहज नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न सकेको छैन। गुफासम्म पुग्ने करिब चार किलोमिटर बाटो कच्ची र साँघुरो हुँदा गुफा ओझेलमा पर्ने जोखिम बढेको हो।

कच्ची र साँघुरो सडकका कारण पर्यटक तथा स्थानीय सहज रूपमा गुफासम्म पुग्न सक्दैनन्। पर्यटकीय सम्भावना बोकेको चमेरे गुफा पूर्वाधार विकास र सहजमार्ग विस्तार नहुँदा ओझेलमा परेको छ। पछिल्लो समय जिल्लाका अन्य पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि चमेरो गुफा क्षेत्र प्रायः सुनसान हुने गरेको स्थानीय बताउँछन्।

करिब साढे दुई दशक पहिले पत्ता लागेको प्राकृतिक सौन्दर्यले भरिएको यस गुफाको आवश्यक प्रचारप्रसार र प्रवर्द्धन गर्ने सके आन्तरिकका साथै बाह्य पर्यटकलाई आकर्षित गर्ने, नागरिकको आयआर्जन वृद्धि हुने तथा रोजगारीका अवसर सृजना हुने स्थानीयको भनाइ छ। चारतिर वनजङ्गल रहेको र सोही जङ्लसँगैको पहाडको फेदमा रहेको गुफा चारैतिर हरियाली र स्वच्छ दृश्यले सबैलाई मनमोहक बनाउने गरेको छ।

सुन्दर दृश्य तथा गुफा अवलोकनका लागि आउने पर्यटकलाई भने पैदल हिँड्नुपर्ने बाध्यता छ। प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको आगमन बढ्नुका साथै पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर वृद्धि हुने विश्वास लिइएको छ। पैदल हिँडेर थकानका साथ जब आन्तरिक पर्यटक गुफामा पुग्छन् तब सबै थकान मेटिने उनीहरूको प्रतिक्रिया छ।

तुलसीपुरबाट गुफा अवलोकन गर्न पुग्नुभएकी ४३ वर्षीया सरस्वती पुनले पहिलो पटक यहाँ आएको भन्दै निकै सुन्दर र रमणीय दृश्य यहाँ रहेका प्रतिक्रिया दिनुभयो। सहज सडक नहुँदा पैदल हिँड्नु पर्ने अवस्थाले थकान महसुस भएको उनले अनुभव सुनाए। “गुफा सुन्दर छ, तर हिँड्नु परेकाले कठिनाइ भएको छ”, उनले भने। चमेरे गुफासम्म पुग्न सामान्य कच्ची बाटो बने पनि पर्याप्त रूपमा पूर्वाधार विकास र सडक विसतार नहुँदा गुफाको अस्तित्व सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीयहरू बताउँछन्।

तुलसीपुर-४ की ४५ वर्षीया विमला शर्माले चमेरी गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा अहिले यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्या न्यून रहेको बताए। उनले यस क्षेत्रको विकासमा सरोकार भएका निकायले ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक थप भित्र्याउन सकिने धारणा राखे। “यसले पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयआर्जन वृद्धि हुने, रोजगारीका अवसर सृर्जना हुने, जीवनस्तरमा सुधार हुने थियो”, उनले भने।

तुलसीपुर बजारबाट करि १२ किलोमिटरको दूरीमा यो गुफा पर्दछ। प्राकृतिका सुन्दरताले भरिएको गुफाको संरक्षण गरी दीगो रूपमा पूर्वाधार निर्माण गर्नसके दाङ जिल्लाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा विकास हुने सम्भावना छ। हाल गुफा अवलोकन गर्न दैनिक ४० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका सिद्द चेमेरोे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले जानकारी दिए।

उनका अनुसार तीनतला रहेको यस गुफासम्म पुग्नका लागि केही वर्ष पहिले साविकको जिल्ला विकास समिति दाङ, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा कच्ची बाटो, यात्रु प्रतिक्षालय, चमेना गृहलगायत केही संरचना निर्माण भएका छन्। पछिल्ला वर्षमा कुनै पनि निकायले बजेट उपलब्ध नगराउँदा गुफाको पर्याप्त विकास तथा पक्की मोटरबाटो निर्माण हुन नसकेको समितिका अध्यक्ष पुनले बताए।

गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघका स्वरुप देखिने भएकाले अवलोकन गर्ने जोकोही आकर्षित हुने उनको भनाइ छ। “गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरुप देख्न सकिन्छ। गुफामा तीन तह छन्। प्रत्येक तहका भित्तामा विभिन्नस्वरुप देख्न पाइन्छ”, उनले भने।

बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेर गुफामा चमेरा बस्ने भएकाले यसको नाम चमेरे गुफा हुन गएको जानकारहरू बताउँछन्। विसं २०५२ मा पत्ता लागेको यो गुफा कसले र कसरी पत्ता लाग्यो भन्नेबारे सबै अनविज्ञ रहेका समितिका अध्यक्ष पुनले जानकारी दिनुभयो। यहाँका ज्येष्ठ नागरिकका अनुसार भिरमा घाँस काट्न जाँदा गुफा पत्ता लागेको बताउने गरेका उनको भनाइ छ।

गुफासम्म पुग्न बाटोमा भर्‍याङहरू पनि निर्माण गरिएका छन्। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-सल्यान सडकखण्डको हर्नेटीसम्म बाटो पक्की छ। हर्नेटीबाट गुुफासम्म पुग्न करिब चार किलोमिटर कच्ची तथा साँघुरो सडक हुँदा वर्षात्को समयमा यातायातका साधन सञ्चालन हुन नसक्दा पर्यटक आगमन घट्ने जनाउँदै पुनले हिउँदको समयमा साना सवारीसाधन भने यहाँसम्म आउने बताए।

साना सवारीमार्फत यहाँ आउँदा करिब एक दशमलव पाँच किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता रहेको समितिका अध्यक्ष पुनले बताए। सोही कारणले पर्यटकको सङ्ख्यामा कमी आएको स्थानीयबासी बताउँछन्। यस क्षेत्रको विकास भए आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिने भएकाले स्थानीयले सरोकार भएका निकायलाई गुफा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिएका छन्।

सिद्द चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष पुनले गुफासम्म पुग्ने चार किमी बाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाई हुने गरेको बताए। “कतिपय पर्यटक पैदल हिँड्नु परेपछि बीचबाटोबाट फर्किँदा आगन्तुकको सङ्ख्यामा कमी आएको छ”, उनले भने, “गत मङ्सिरमा बर्दियाबाट गुफा अवलोकनका लागि बसमा आएको थियो। एकटोली क्षेत्रको बाटो साँघुरो भएकाले बस यहाँसम्म नपुगी हर्नेटीबाट फर्केको थियो।”

यसको क्षेत्रको विकास गरी रोजगारी सृजना गर्न तथा स्थानीयको आयआर्जन बढाउन सबैले सहयोग र समन्वय गर्नुपर्नेमा अध्यक्ष पुनले जोड दिए। चमेरे गुफसम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटकपटक लुम्बिनी प्रदेश सरकार तथा तुलसीपुर उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदै आइएको जनाउँदै उनले हालसम्म कुनै सुनुवाइ नभएको बताए।

चमेरे गुफालाई प्रर्यटकीय केन्द्रका रूपमा विकास गर्नका लागि गुफाभित्र बिजुली, भर्‍याङ निर्माण गर्नुपर्ने तथा बाहिर प्रतिक्षालय, शौचालय, व्यवस्थित चमेना गृह निर्माण गरिनुपर्ने भन्दै सहज सडक सञ्जाल विस्तार गरिदिन उनले सरोकार भएका निकायसँग आग्रह गरे। हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि आउनेसँग प्रतिव्यक्ति रु २० लिने गरेको जनाउँदै उनले सोहीबाट सङ्कलन भएको रकमले गुफाको संरक्षण र विकास गरिँदै आइएको उल्लेख गरे।

तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले यसवर्ष चमेरे गुफाको विकासका लागि भौतिक पूर्वाधार निर्माणसहित व्यवस्थित पूर्वाधार निर्माणका लागि बजेट विनियोजन नभएकाले समस्या भएको बताए। उनले चमेरे गुफा संरक्षण र सम्वर्द्धन गरी यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताउँदै बजेट अभावका कारण सडक पक्की बनाउन नसकिएको उल्लेख गरे।

सन् २०११ मा चमेरे गुफाको प्रचारप्रसाका लागि भन्दै स्थानीयको सहयोगमा महोत्सव पनि आयोजना गरिएको थियो। सो अवधिमा पर्यटकको आगमन पनि बढेको थियो। तर, पछिल्ला वर्षहरूमा गुफाको अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी आउँदा पर्यटकीय सम्भावना बोकेको क्षेत्र ओझेलमा परेको भन्दै स्थानीय सरकारले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने स्थानीय बताउँछन्। रासस