+

लगानीमैत्री वातावरण नबने अर्थतन्त्र संकटमा पर्ने निजी क्षेत्रको चेतावनी

११ बैशाख २०८३, शुक्रबार १४:०९

काठमाडौं। मुलुकका उद्योगी-व्यवसायीका तीन प्रमुख छाता संगठनहरूले सरकारसँग तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न जोडदार माग गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल वाणिज्य संघले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

नयाँ सरकार गठनसँगै मुलुकको अर्थतन्त्रले गति लिने र लगानीको वातावरण सुधार हुने अपेक्षा गरेको निजी क्षेत्रले पछिल्ला गतिविधिहरूले आफूहरूलाई हतोत्साही बनाएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र राजस्व संकलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको निजी क्षेत्रलाई निराश तुल्याउने कुनै पनि कार्यले मुलुकलाई आर्थिक संकटतर्फ धकेल्न सक्छ।”

तीनै संस्थाले लगानीकर्ताको मनोबल गिरनुले देशको समग्र अर्थतन्त्रका विभिन्न क्षेत्रमा पर्न सक्ने गम्भीर असरहरूबारे सचेत गराएका छन्।

उनीहरूले लगानी निरुत्साहित हुँदा सरकारी राजस्वको स्रोत खुम्चिन सक्ने जोखिम रहेकाे जनाएका छन्। नयाँ रोजगारीका अवसरहरू सिर्जना नहुने र मुलुकको आपूर्ति प्रणालीमा नै असर पर्ने चिन्ता व्यक्त गर्दै लगानीकर्ताको मनोबल कमजोर हुँदा समग्र बैंकिङ प्रणाली र पूर्वाधार विकासका कार्यहरू प्रभावित हुने उल्लेख गरेका छन्।

निजी क्षेत्रले सरकारलाई मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्दै आर्थिक स्थायित्व कायम गर्न आग्रह गरेको छ। लगानीकर्ताको सुरक्षा र सम्मान नभएसम्म आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीमैत्री नीति, कानुन र व्यवहारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

पछिल्लो समय निजी क्षेत्रले भोग्दै आएका समस्या र आर्थिक सूचकहरूमा देखिएको सुस्तताको अन्त्य गर्न सरकारले ठोस पहल कदमी लिनुपर्ने आवश्यकतामा तीनवटै संस्था एकमत देखिएका छन्।