काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट रोल्पाको थबाङतर्फ जाँदै गरेको जीप दुर्घटनामा परी २० जनाको ज्यान गएको खबरले आफूलाई स्तब्ध र मर्माहत तुल्याएको बताएका छन्। उनले एक शोक वक्तव्य जारी गर्दै यस दुःखद घडीमा ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टाकुराका बासिन्दा रहेको प्रति दुःख व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। संयोजक प्रचण्डले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन्।
उनले घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई उचित राहत र सहयोग सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न आफ्नो पार्टी पंक्तिलाई समेत निर्देशित गरेका छन्।
सडक दुर्घटनाका यस्ता हृदयविदारक घटनाहरू बारम्बार दोहोरिने गरेकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन र सडक सुरक्षाका उपायहरूलाई थप सुदृढ बनाउन सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले पहाडी भेगका सडकहरूको अवस्था र सवारी साधनको चापलाई मध्यनजर गर्दै सुरक्षा मापदण्डमा कडाइ गर्नुपर्नेमा जोड दिएका छन्।


