+

लिपुलेकको भूमि नेपालको हो भन्नेमा सरकार स्पष्ट छ : प्रवक्ता

२१ बैशाख २०८३, सोमबार १४:५३

काठमाडौं। सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्रहरू नेपाली भूमि भएको कुरामा सरकार पूर्ण प्रतिबद्ध रहेको पुन: दोहोर्‍याएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सीमाका सम्बन्धमा नेपालको धारणा अविचलित रहेको बताएका हुन्।

प्रवक्ता पोखरेलले सीमा विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयले यसअघि नै आफ्नो आधिकारिक र स्पष्ट धारणा सार्वजनिक गरिसकेको जानकारी दिए।

भारत सरकारले हालै जारी गरेको भनिएको वक्तव्य र त्यसमा नेपालले ‘सीमा विस्तार’ गर्न खोजेको भन्ने आशयको बुँदाप्रति कडा टिप्पणी गर्दै उनले भने, ‘ती क्षेत्रहरू नेपालकै ऐतिहासिक भूमि हुन्, त्यसैले यसलाई सीमा विस्तार गरिएको भन्नु गलत हो। यो नेपालको आफ्नो भूभागमाथिको अधिकारको कुरा हो, जसमा सरकार स्पष्ट र दृढ छ।’

परराष्ट्र मन्त्रालयले जारी गरेको ‘नोट’ केवल सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा सम्बन्धित पक्षलाई पठाइएको कूटनीतिक पत्र भएको समेत उनले प्रष्ट पारे।

प्रवक्ता पोखरेलले अब यो विषयलाई दुई देशका सरकारबीचको आपसी सहकार्य र उच्चस्तरीय कूटनीतिक संवादमार्फत तार्किक निष्कर्षमा पुर्‍याइने बताए। नेपाल सरकारले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्याको स्थायी समाधान खोज्न कूटनीतिक पहललाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो।

ताजा अपडेट