काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको भाउले पछिल्ला दिनहरूमा निरन्तर उकालो लाग्ने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले वृद्धि भएको छ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको छ, जुन हिजो बुधबार प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
गत मंगलबारको तुलनामा सुनको मूल्यमा भएको यो वृद्धि झनै उल्लेख्य देखिएको छ, किनकि सो दिन एक तोला सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ मात्र रहेको थियो।
सुनसँगै सेतो धातु चाँदीको मूल्यमा पनि आज उच्च वृद्धि देखिएको छ। आज चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले बढेर पाँच हजार १५५ रुपैयाँ पुगेको छ। हिजो बुधबार चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो भने मङ्गलबार यसको मूल्य चार हजार ८८० रुपैयाँ कायम थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा प्रत्यक्ष परेको देखिन्छ। आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ७०३ अमेरिकी डलर र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसका कारण स्थानीय बजारमा पनि मूल्यमा चाप परेको व्यवसायीहरूको विश्लेषण रहेको छ।


