काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँतीले श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्।
शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनले श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन्। किराँतीलाई पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरे।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले पार्टी एकता जनताको चाहनाअनुसार भएको दाबी गरे। उनले आफूहरुको एकताको यो ऐतिहासिक घडी भएको बताए।
उनले भने, ‘एकता ऐतिहासिक घडी हो। एकता किन भन्दा सम्पूर्ण जनताहरुले दवाव दिनुभयो। जनताको चाहना अनुसार एकता भएको हो। आँखामा सपना र मनमा बाचा बोकेर, काँधमा जिम्मेवारी, छातीमा इमानदारिता बोकेर ऐतिहासिक कार्यक्रममा छौं। जनताको चाहना पूरा गर्यौं, जनताको आदेश हामीले मान्यौं र हामीले ऐतिहासिक एकता पनि गर्यौं।’
आँखामा सपना र मनमा बाचा बोकेर, काँधमा जिम्मेवारी र छातीमा इमानदारिता बोकेर यो एकता भएको बताए। किराँतीले अब जनताले आफूहरूलाई साथ दिने विश्वास गरे।
उनले भने, ‘अब तपाईंहरु सबैले हामीलाई साथ दिनुहोस्। यो गाहे लगाउने कथा मात्रै होइन, घर बनाउने कथा मात्रै होइन, ढुंगा र माटोको सम्बन्ध तीन करोड नेपाली जनता अब यो नेपालको माटो र बाटोमा अब हामी हिड्नैपर्छ।’
उनले इतिहासको गम्भिर समिक्षा गर्दै इतिहासको त्रुटिहरुबाट शिक्षा लिनुपर्ने बताए।
उनले भने, ‘हामी त्यत्तिकै एकता भएका छैनौं, हामीले इतिहासको गम्भिर समिक्षा गरेका छौं। इतिहासको त्रुटिहरुबाट शिक्षा लिएका छौं। घटेको घटनाहरुबाट शिक्षा लिँदै एकताको यो विन्दुसम्म आइपुगेका छौं।’


