काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपा सरकारले संसदको अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको राजनीतिक लक्ष्य देशको प्रशासनतन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्नु मात्र रहेको बताएका छन् ।
मंगलबार दलीय हैसियतले प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । उनले रास्वपा र रास्वपा सरकारको नीति र नेतृत्वबारे टिप्पणी गर्दै रास्वपाले पाएको सफलता दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीका एआई जादु, साथै विश्व भु राजनीतिका अदृश्यको प्रभाव भएको बताए ।
उनले वैशाख २८ गते राष्ट्रपतिले सरकारका सय बुँदे नीति कार्यक्रम सार्वजनिक गरेको भन्दै उनले आगामी निर्वाचनमा रास्वपाले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा रास्वपाको एकल नेतृत्व स्थापित गर्न लागिरहेको बताए ।
‘यो लक्ष्य हासिल गरेपछि रास्वपाको कथित निलो क्रान्तिले पूर्णता पाउनेछ’, बादलले भने, ‘सरकारको नीति तथा कार्यक्रम मुलुकको विकास र समृद्धि तथा लोकतन्त्रको अपरिहार्य मार्गचित्र हुनुपर्ने बताए । उनले रास्वपा कुनै विचारधारमा आधारित दल नभएर महत्त्वाकाङ्क्षी र अराजक जमातको अस्थायी गठजोड भएको भन्दै राजनीतिक रूपमा लोकप्रियतावादको दलदलको जगमा अडिएको बताए । ‘यो चरम अवसरवाद र अस्थिर प्रवृत्ति हो’, बादलले भने, ‘यो रूपमा अत्यन्तै प्रिय देखिन्छ, तर सार र परिणाममा अत्यन्त घातक हुन्छ । भ्रम र विरोधाभासको दर्शन हो । बादलले लिपुलेक, टीओवी काण्डबारे नीति तथा कार्यक्रम चुपचाप भएको, शिक्षक तथा पेशा कर्मीको अधिकार खोसिदा नीति कार्यक्रमको घण्टी नबजेको, ऋण लिएर विकास हुँदैन भन्नेहरूले किन ऋण लिइरहेका छन् भन्दै बादलले दर्जनौँ प्रश्न गरे ।


