बेइजिङ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटपछि पत्रकारहरूले सोधेको ताइवानसम्बन्धी प्रश्नमा कुनै प्रतिक्रिया दिएको छैन ।
सीएनएनको फुटेजअनुसार दुवै नेता बेइजिङस्थित युनेस्कोको सूचीमा रहेको टेम्पल अफ हेभनमा फोटो सेसनका लागि उभिएका बेला पत्रकारहरूले दुई पटक के ताइवानबारे छलफल भयो ? भनेर सोधेका थिए । तर ट्रम्पले त्यस प्रश्नको कुनै जवाफ दिएनन् ।
त्यस दिन करिब दुई घण्टा लामो वार्तापछि उनीहरूले उक्त ऐतिहासिक स्थलको भ्रमण पनि गरेका थिए । तर चीनको विदेश मन्त्रालयले जारी गरेको विवरणअनुसार ताइवान मुद्दा वार्तामा उठाइएको थियो । सीले ताइवानलाई ुचीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा भएको बताएका थिए । उनका अनुसार यदि ताइवान मुद्दा सही रूपमा व्यवस्थापन गरियो भने सम्बन्ध स्थिर रहन सक्छ, तर गलत रूपमा ह्यान्डल गरियो भने द्वन्द्वको जोखिम बढ्न सक्छ । एजेन्सी


