काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र डा.आरजु राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ।
पूर्वसभापति देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै रोक्न अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि प्रारम्भिक सनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकताका साथ छलफलका लागि अगाडि बढाउन आदेश दिएको हो।
अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफलका लागि झिकाउन समेत अदालतले भनेको छ। यसका लागि जेठ ११ गते पेसी तोकिएको छ।
यससँगै पक्राउ अनुमति प्रक्रियासम्बन्धी कानुनी वैधता र त्यसको आधारबारे सर्वोच्च अदालतमा विस्तृत छलफल हुने भएको छ।
सर्वोच्च अदालते सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अहिलेसम्म भएका अनुसन्धानको सम्पूर्ण विवरण समेत झिकाउन आदेश दिएको छ। सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जि जारी गरेको थियो। आफूहरु अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताउँदै पक्राउ पुर्जीविरुद्ध अन्तरिम आदेशको मागसहित देउवा सर्वोच्च अदालत पुगेका हुन्।




