+

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

६ जेष्ठ २०८३, बुधबार ०८:१३

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको हो।

आजको बैठकका लागि मुख्य गरी निर्वाचन र मतदाता नामावली सम्बन्धी दुईवटा महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुनेछ। उक्त प्रस्ताव स्वीकृत भएपछि बैठकमा सो विधेयक प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यसैगरी, मन्त्री गौतमले नै आजको बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र अनुमति प्राप्त भएपछि उक्त विधेयक पनि सदनमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।