+

हमासलाई निशस्त्र बनाउन दबाब दिन शान्ति बोर्डको सुरक्षा परिषद्मा आग्रह

६ जेष्ठ २०८३, बुधबार १८:१४

जेनेभा । गाजामा अमेरिका–प्रायोजित युद्धविरामको अनुगमन गर्ने ‘शान्ति बोर्ड’ ले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई हमासलाई निशस्त्र बनाउन दबाब दिन आग्रह गर्ने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा स्थापना गरिएको उक्त निकायले युद्धविरामको पूर्ण कार्यान्वयनका लागि हमासको सैन्य संरचना विघटन आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन प्रस्तुत गर्ने भएको हो ।

सुरक्षा परिषद्ले बिहीबार मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने तयारी गरिरहँदा शान्ति बोर्डको प्रतिवेदन प्रमुख एजेन्डामध्ये एक बन्ने अपेक्षा गरिएको छ । गोप्य प्रतिवेदनमा हमासले हतियार त्याग्न अस्वीकार गर्नु, नियन्त्रण छोड्न नमान्नु र गाजामा नागरिक प्रशासनलाई सहज बनाउन नचाहनु वर्तमान गतिरोधको मुख्य कारण भएको उल्लेख गरिएको छ ।

युद्धविरामको पूर्ण कार्यान्वयनका लागि सबैभन्दा ठूलो अवरोध हमासले आफ्नो सशस्त्र संरचना विघटन गर्न अस्वीकार गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ । यसले गाजामा वास्तविक नागरिक सङ्क्रमण र पुनर्निर्माण प्रक्रिया अघि बढ्न नसकेको पनि दाबी गरिएको छ ।

हमासले भने उक्त प्रतिवेदनलाई अस्वीकार गर्दै यसमा ‘गम्भीर त्रुटिहरू’ रहेको प्रतिक्रिया दिएको छ । समूहका अनुसार प्रतिवेदनले युद्धविराम उल्लङ्घनको जिम्मेवारी इजरायलतर्फबाट हटाउने प्रयास गरेको छ ।

प्रतिवेदनको प्रामाणिकता एक कूटनीतिज्ञले पुष्टि गरेको भए पनि दस्तावेज सार्वजनिक रूपमा जारी गरिएको छैन ।

शान्ति बोर्डको स्थापना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम योजनाअन्तर्गत गरिएको हो । उक्त योजनाले हमासलाई हतियार समर्पण गर्न र सुरुङ संरचना ध्वस्त पार्न आग्रह गर्छ भने इजरायली सेना फिर्ता, अन्तरिम प्राविधिक प्यालेस्टिनी प्रशासन, अन्तर्राष्ट्रिय सुरक्षा बल तैनाथी र युद्धपछि गाजाको पुनर्निर्माणको परिकल्पना गर्दछ ।

शान्ति बोर्डका प्रमुख पूर्व संयुक्त राष्ट्र मध्यपूर्व दूत निकोले म्लादेनोभले युद्धविराम कार्यान्वयन सुरु भएदेखि नै प्रगति अवरुद्ध भएको स्वीकार गरेको छ । उनका अनुसार हमासको निःशस्त्रीकरणबारेको विवादले सम्पूर्ण प्रक्रियालाई ठप्प पारेको छ ।

प्रतिवेदनमा ‘हतियार त्याग नगरिएको अवस्थामा पुनर्निर्माण सम्भव छैन’ र शान्ति योजनाका सबै पक्षहरू कार्यान्वयन गर्न हमास तथा अन्य सशस्त्र समूहहरूको पूर्ण विघटन अपरिहार्य छ भनिएको छ ।

सुरक्षा परिषद्ले गत नोभेम्बरमा शान्ति बोर्डको गठनलाई अनुमोदन गरेको थियो । गाजामा हतियार नियन्त्रणको अन्त्य केवल आवश्यक मात्र नभई पुनर्निर्माण, इजरायली सेना फिर्ता र प्यालेस्टिनी आत्मनिर्णयका लागि आधारसमेत हो भन्दै प्रतिवेदनले सुरक्षा परिषद्लाई सार्वजनिक रूपमा निरन्तर र स्पष्ट रूपमा यो कुरा दोहो¥याउन आग्रह गरेको छ ।

हमासले भने प्रतिवेदनले युद्धविरामलाई असफल बनाउने प्रयास गरेको आरोप लगाएको छ । समूहका अनुसार इजरायलले क्रसिङ बन्द, सामग्री आपूर्ति अवरोध र नागरिक पूर्वाधार पुनर्निर्माणमा अवरोध जस्ता दायित्व पूरा नगरेको विषयलाई प्रतिवेदनले बेवास्ता गरेको छ ।

गाजामा युद्धविराम लागू भएयता दैनिकजसो उल्लङ्घन भइरहेको प्रतिवेदनमा उल्लेख छ । यस क्रममा नागरिक मृत्यु, विस्थापन र मानवीय सहायता अवरोधका घटनाहरू देखिएको बताइएको छ ।

इजरायली सेनाले युद्धविरामकै बीचमा पनि हवाई आक्रमण र सैन्य गतिविधि जारी राखेको तथा केही क्षेत्रमा नियन्त्रण विस्तार गरेको प्रतिवेदनले उल्लेख गरेको छ । गाजामा करिब २० लाख जनसङ्ख्या आधारभूत सेवा अभावका कारण अस्थायी शिविरमा बस्न बाध्य रहेको जनाइएको छ ।

म्लादेनोभले हालसम्म दुवै पक्षबाट हुने उल्लङ्घन दैनिक रूपमा सम्बोधन भइरहेको बताउँदै आएको छ । तर उनले हमासको निःशस्त्रीकरण नै मुख्य अड्चन भएको दोहो¥याउँदै यो विषय सम्झौता योग्य नभएको स्पष्ट पारे ।