+

अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

६ जेष्ठ २०८३, बुधबार ०८:१८

काठमाडौं,। पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ ।

गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बाँस्तोलाले जानकारी दिए । उक्त स्थानमा विसं २०३८ देखि टहरा बनाएर बस्न थालिएको थियो ।

अमरसिंह माविको नाममा रहेको यहाँको जग्गा विद्यालयले नै भाडामा लगाएपछि व्यवसायीले भाडामा लिएर टहरा निर्माण गरी विभिन्न व्यवसायहरू गर्दै आएका थिए । व्यावसायिक टहरा व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुखसहित अमरसिंह माविका प्रधानाध्यापक, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी तथा सञ्चारकर्मी सबैको साथ र सहयोग रहेको उनको भनाइ छ ।

खाली गराइएको स्थानको आगामी दिनमा कसरी उपयोग गर्ने सम्बन्धमा विद्यालयका पूर्वप्रधाध्यापक, पूर्वव्यवस्थापन समितिका अध्यक्ष, पोखरा महानगरपालिका शिक्षा महाशाखालगायत सम्बद्ध सबैलाई राखेर छलफल गरी निष्कर्षमा पुग्ने योजना रहेको उनले बताए ।