+

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

६ जेष्ठ २०८३, बुधबार १३:३४

नारायणगढ (चितवन) । समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिए । उनका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ ।

पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए समस्या भने यथावत रहेको अध्यक्ष बगालेको भनाइ छ । उनले भने, “डिडिसी केही सुधार हुने सम्भावना देखिएको छ । पहिलेभन्दा भुक्तानी पनि अलि छिटो आएको छ । तथापि चारदेखि साढे चार महिनासम्म भुक्तानी बाँकी रहनु, रकम जति भए पनि, राम्रो पक्ष होइन ।” उनले सरकारले किसानको भुक्तानी छिटो गरिदियोस् भन्ने आग्रह रहेको बताए ।

अध्यक्ष बगालेले डिडिसी र अन्य उद्योगीसँग गरेर करिब ५५ करोड भुक्तानी बाँकी रहेको बताए । किसानले लामो समयसम्म रकम नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या हुने गरेको उनको भनाइ छ । डिडिसीसँगै अन्य उद्योगीलेले अब छिट्टै भुक्तानी गरेर किसानलाई राहत मिल्ने अपेक्षा गरिएको उनले बताए।

सङ्घले सञ्चालन गरेको जिल्लाका विभिन्न मार्टमा आफ्नै उत्पादनका दुग्धजन्य वस्तु उपलब्ध हुँदै आएका छन् । दूध, दही, पनिर, चिज, मोही, नौनी र घ्युजस्ता वस्तु बिक्री हुँदै आएका छन् । सङ्घले आफ्नो उत्पादनलाई बजारीकरण गर्न रत्ननगरस्थित आफ्नै उद्योगमार्फत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँका ११५ वटा दुग्ध उत्पादन सहकारीमार्फत ४० हजार किसानले उत्पादन गरेको दूध बिक्री हुँदै आएको छ ।

भरतपुर महानगरद्वारा ‘काउ लिफ्ट’ मेसिन वितरण

भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण (काउ लिफ्ट) हस्तान्तरण गरेको छ ।

प्रतिगोटा ६४ हजार मूल्यपर्ने उक्त मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई तीन वटा, अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्थालाई दुई वटा तथा अन्य चार सहकारी संस्थालाई एक÷एक वटा र एउटा फार्मलाई हस्तान्तरण गरिएको हो । जम्मा १० वटा मेसिन वितरण गरिएको महानगर कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाका प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए ।

प्रमुख भण्डारीले उन्नत जातका दुधालु गाईमा उठ्न नसक्ने समस्या देखिने भएकाले किसानलाई सहज बनाउन उक्त मेसिन वितरण गरिएको बताए ।

उनले भने, “उन्नत खालका दुधालु गाईमा ‘डाउनर काउ सिन्ड्रोम’ भन्ने एक प्रकारको रोग देखिन्छ । यसका कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गाई बसेपछि दुई–तीन दिनसम्म उठ्न नसक्दा खुट्टामा घाउ हुनेजस्ता समस्या हुन्छन् । किसानले आफैँ उठाउन पनि सक्दैनन् ।” यस समस्याको समाधानका लागि सहकारी र सङ्घमार्फत मेसिन वितरण गरिएको उनले बताए । आवश्यक पर्दा सहकारीमार्फत मेसिन लैजान र प्रयोग गर्न सहज हुने उनको भनाइ छ ।

प्रमुख भण्डारीका अनुसार मेसिनको सहायताले एक जना किसानले मात्रै पनि गाई उठाएर स्याहार गर्न सक्नेछन् । गाई उठेपछि विस्तारै खुट्टा चल्न थाल्ने र पुनःतङ्ग्रिन सक्ने छन् ।