काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सरकारले सक्दो प्रयास गर्ने बताएका छन् ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टीमका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्दै मन्त्री पोखरेलले सीमित स्रोतसाधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद विकासलाई प्राथमिकता दिइने उल्लेख गरे ।
मन्त्री पोखरेलले नेपाली फुटबलमा महिला फुटबल टोलीको प्रदर्शनी उत्कृष्ट रहेको तथा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपाधि प्रशंसनीय रहेको बताए ।
उनले सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गरेर खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानलाई सरकारकोतर्फबाट सकेसम्म बढाउने प्रयत्न गरिने बताए । कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीलाई राष्ट्रिय झण्डा र जर्सी हस्तान्तरण गरेका थिए ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले सरकारको नीतिअनुसार नेपाली फुटबलले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।
यही जेठ ११ गतेदेखि २४ गतेसम्म भारतको मडगाओ गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । नेपाली महिला फुटबल टोली जेठ ८ गते भारत प्रस्थान गर्ने र प्रतियोगिता सम्पन्नपछि जेठ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


