+

एमाले सचिवालय बैठक : पाँच उपाध्यक्षद्वारा धारणा प्रस्तुत, कार्यविभाजनको विषयमा भोलि छलफल हुने

८ जेष्ठ २०८३, शुक्रबार १८:५७

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षा सुरु भएको छ। पार्टी अध्यक्षको निवासमा जारी बैठकमा शुक्रबार पाँच जना उपाध्यक्षहरूले आ–आफ्ना धारणा र विचारहरू खुलेर राखेका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टीको समग्र समीक्षा गर्नुका साथै निर्वाचनको समीक्षालाई दुई भागमा बाँडेर छलफल अगाडि बढाइएको छ। नेताहरूले लामो समय लिएर स्पष्ट रूपमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए। गौतमले यसलाई उल्लेख गर्दै भने, ‘सायद यो बैठक यसरी चलेको पहिलो चोटी होला, जहाँ नेताहरुले लामो समय लिएर आफ्ना खुलेर विचारहरू प्रस्तुत गर्नुभएको छ।’ बैठकको बीच–बीचमा पार्टी अध्यक्षले विषयवस्तु स्पष्ट पार्न आवश्यक सहजीकरण समेत गरेका थिए।

आजको बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा भने प्रवेश नभएको प्रमुख गौतमले जानकारी दिए। प्रस्तावित कार्यविभाजनमा केही संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘त्यो एजेन्डामै आउँदा हाम्रा कुराहरू राख्छौं। प्रस्तावित कार्यविभाजनमा कसका के सुझाव छन्, आवश्यक पर्दा त्यसलाई संशोधन पनि गरेर जानुपर्ला।’

सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे अध्यक्षकै निवासमा पुनः बस्ने तय भएको छ। गौतमका अनुसार भोलिको बैठकमा उनीसहित बोल्न बाँकी १२ जना नेताहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।