+

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

८ जेष्ठ २०८३, शुक्रबार २०:००

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड नगरपालिका-१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने २९ वर्षीया प्रियंका कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुन कुमार चौधरी रहेका छन्।

पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ, प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका-१० बाट, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट, उत्तमलाई काठमाडौं महानगरपालिका-६ बाट, प्रियंकालाई काठमाडौं महानगरपालिका-११ बाट र अर्जुनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।