काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल चार प्रदेशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ।
मौसमविद् विभूति पोखरेलका अनुसार अहिले उपत्यकाका विभिन्न जिल्ला काठमाडौं, ललितपुर, धुलिखेल लगायतका जिल्लाका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ।
‘बागमती, गण्डकी, मधेस, कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको अवस्था छ। गण्डकी प्रदेश र चितवनतिर मध्यमसम्मको वर्षा देखिएको छ। कर्णाली र लुम्बिनी प्रदेशमाका केही स्थानमा पनि वर्षा भएको देखिन्छ,’ उनले भने।
उनका अनुसार गएको २४ घण्टामा सोलुखुम्बुको लुममा १२४.२ मिलिलिटर वर्षा भएको छ।
यसैगरी, आइतबार र पर्सी सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना छ।
भोलि मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने पर्सी गण्डकी, बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।


