+

इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

९ जेष्ठ २०८३, शनिबार २१:५४

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) लगायत अमेरिका प्रवेश गर्ने व्यक्तिहरूमाथि पूर्वी तथा मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेश प्रतिबन्ध लागू हुने जनाएको छ ।

विस्तारित प्रतिबन्ध अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम नियमअनुसार लागू गरिएको हो । उक्त नियमले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगको फैलावट रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशनहरू संशोधनसमेत गरेको छ ।

नयाँ नियमअनुसार विगत २१ दिनभित्र कङ्गो, युगान्डा वा दक्षिण सुडानमा रहेका व्यक्तिलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ ।

एजेन्सीका अनुसार यो निर्णय यसै साता घोषणा गरिएको इबोला प्रकोपसम्बन्धी प्रवेश प्रतिबन्धको दायरा विस्तार गर्ने उद्देश्यले गरिएको हो । सोमबार सीडीसीले सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि ३० दिने प्रतिबन्ध प्याकेज सार्वजनिक गरेको थियो, जसअन्तर्गत यात्रु स्क्रिनिङ तथा अनुगमनलाई कडा बनाउँदै केही गैर–अमेरिकी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो ।

नयाँ नियमले स्थायी रूपमा अमेरिका बसोबास गर्न पाउने कार्ड भएका व्यक्तिलाई समेत अमेरिका फर्किन पूर्ण रूपमा निषेध गरेको जनाएको छ । सार्वजनिक स्वास्थ्यको सुरक्षा तथा आपतकालीन प्रतिक्रिया स्रोत व्यवस्थापनका लागि यस्तो अस्थायी प्रवेश प्रतिबन्ध आवश्यक रहेको सीडीसीले उल्लेख गरेको छ ।

सीडीसीका अनुसार हालसम्म संयुक्त राज्य अमेरिकामा इबोला प्रकोपसँग सम्बन्धित कुनै घटना पुष्टि भएको छैन । साथै, आम सर्वसाधारणका लागि तत्काल जोखिम कम रहेको जनाएको छ ।