काठमाडौं। देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर राजनीतिक संकटको सामना गर्दै विभाजनको अन्तिम डिलमा पुगेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी कार्यशैली र वैचारिक विचलनप्रति तीव्र असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको संस्थापन इतर समूहले राप्रपाबाट सदाका लागि बाहिरिने कठोर निर्णय लिएको छ।
लामो समयदेखि पार्टीभित्र सल्किरहेको दुई लाइनको अन्तरसंघर्षको पटाक्षेप गर्दै राणा समूहले आगामी जेठ १८ गते काठमाडौंको होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। यसका लागि राजीनामाको मस्यौदा (ड्राफ्ट) समेत तयार भइसकेको स्रोतले जनाएको छ।
उनीहरुले नेतृत्वको कार्यशैलीकै कारण प्रतिनिधिसभा निर्वाचन २०८२ मा राप्रपाका अधिकांश उम्मेदवारहरुको जमानत जफत भएको आरोप लगााउँदै आइरेहका छन् । पार्टीको केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति लगायतका वैठकमा भएको छलफलको समेत कुनै सुनवाइ नभएको उनीहरुको गुनासो छ ।
सामूहिक राजीनामापछि राणाको समुह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर एउटा नँया दल दर्ता गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।
डा.राणा र प्रसाईंबीच यस विषयमा पटकपटक छलफल भएको बुभिएको छ । उनीहरुले छरिएर रहेका सबै राजावादीहरुलाई समेटेर एउटा बलियो शक्ति निर्माण गर्ने लक्ष्य राखेको छ ।
राणा समूहबाट ४०–५० जना केन्द्रीय सदस्यहरु सामूहिक राजीनामा दिन तयार रहेको एक नेताले बताए ।


