+

सीमा विवादबारे रवि लामिछानेको टिप्पणी: हल्ला गरेर र ढोल बजाएर कूटनीतिक समस्या हल हुँदैन

२२ जेष्ठ २०८३, शुक्रबार २०:४०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी शुक्रबार अपराह्न स्वदेश फर्किएका छन्।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा गत जेठ १८ गते नयाँदिल्लीतर्फ प्रस्थान गरेका लामिछाने शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

स्वदेश फर्किएलगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो यसपटकको भ्रमण विगतका कूटनीतिक भेटघाटहरूभन्दा बिल्कुलै फरक, पारदर्शी र परिणाममुखी रहेको दाबी गरे।

सभापति लामिछानेले नेपालका उच्च राजनीतिक नेतृत्वबाट हुने अधिकांश वैदेशिक भ्रमणहरू बन्द कोठाभित्र अपारदर्शी ढंगले हुने गरेको परम्परालाई आफूहरूले तोडेको स्पष्ट पारे।

आफ्नो कूटनीतिक मर्यादा र पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भारतीय अधिकारीहरू तथा मित्र राष्ट्र अमेरिकाका प्रतिनिधिसँग भएका हरेक बैठक र छलफलमा नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई अनिवार्य उपस्थित गराइएको जानकारी दिए।

यस किसिमको अभ्यासले विगतका अस्पष्ट र लुकिछिपी गरिने कूटनीतिक परिपाटीलाई अन्त्य गर्दै नेपाल-भारत सम्बन्धलाई ‘रिसेट’ गर्न बलियो जग बसालेको उनको भनाइ थियो।

भ्रमणका क्रममा दुई देशबीचको परम्परागत राजनीतिक सम्बन्धलाई परिमार्जन गर्दै नयाँ ढंगको अर्थराजनीतिक दृष्टिकोणबाट संवाद अघि बढाइएको लामिछानेले बताए। भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, वैदेशिक लगानी र द्विपक्षीय विकास सहकार्यका विविध आयामहरूमा गहन छलफल भएको जानकारी दिँदै उनले नेपालको आर्थिक समृद्धिका लागि विकास नीतिलाई आधार बनाएर ठोस संवादको थालनी गरिएको उल्लेख गरे।

भारतको प्रतिष्ठित दैनिक पत्रिका ‘हिन्दुस्तान टाइम्स’ मा आफ्नो लेख समेत प्रकाशित भएको स्मरण गराउँदै उनले त्यसमार्फत रास्वपाले परिकल्पना गरेको क्षेत्रीय सहकार्य, नेपालको आर्थिक एजेन्डा र दुई देशबीचको साझेदारीको आधुनिक दृष्टिकोणलाई भारतीय बौद्धिक एवं राजनीतिक वृत्तमा स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए।

नेपाल-भारतबीच कायम रहेका सीमा विवाद लगायतका संवेदनशील कूटनीतिक विषयहरूबारे सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै लामिछानेले कूटनीतिक समस्याहरूको समाधान हल्ला गरेर वा ढोल बजाएर नहुने टिप्पणी गरे।

राष्ट्रिय स्वार्थ र सीमा जस्ता गम्भीर मुद्दाहरूलाई सडक, सदन वा मिडियाका सतही बहसभन्दा माथि उठाएर संस्थागत एवं चरणबद्ध कूटनीतिक पहलका माध्यमबाट मात्रै तार्किक निष्कर्षमा पुर्‍याउन सकिने हुनाले आफूहरूले गर्नुपर्ने ठाउँमा उपयुक्त ढंगले कुरा राखेको उनले प्रष्ट पारे।

यस भ्रमणले वर्षौँदेखि थाती रहेका पुराना समस्याहरू समाधान गर्ने दिशामा एउटा नयाँ सुरुवात गरेको र आगामी दिनमा दुई देशबीच लगानी तथा आर्थिक सहकार्यका नयाँ ढोकाहरू खुल्ने विश्वास रास्वपा टोलीले लिएको छ।