+

भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार

२३ जेष्ठ २०८३, शनिबार २०:२२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता, कार्यकर्ता या कसैलाई पनि भुइँमा न भाँडोमा हुने छुट नरहेको बताएका छन्।

आज सुनसरीको लौकहीमा रास्वपाको सुनसरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली जनताको वास्तविक सेवक हो र यसले नै यो देशको भाग्य र भविष्य निर्माण गर्दछ भन्ने सोच र व्यवहारका साथ जनताको भरोसायुक्त पार्टीका रूपमा लाग्न सबै कार्यकर्तालाई आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ।

केही दिनअघि सङ्घीय संसद्मा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधनलाई स्मरण गर्दै सचेतक परियारले भने, ‘जसरी संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादी पार्टीले झण्डै दुई तिहाई बहुमत प्राप्त गर्दा जनताको सेवा गर्नुको सट्टा भुइँमा न भाँडोमा भएर यो हालतमा आयौँ भन्नुभएको थियो, त्यस्तो काम गर्ने छुट हामलाई छैन र रास्वपाको कुनै कार्यकर्ताले त्यो सोच कदापि राख्नुहुँदैन।’

देशका वास्तविक समस्या र आवश्यकतालाई शिरमा राखेर केही गर्नुपर्छ र गर्छौँ भन्ने भावनाका साथ जनताका बीचमा होमिन उनले रास्वपाका सबै कार्यकर्तालाई आग्रह गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको शिरभन्दा पनि माथि नेपाली जनता रहेको सचेतक परियारको भनाइ थियो।

उनले भने, “रास्वपालाई ठूलो सङ्ख्या अर्थात् भीडको भन्दा पनि जनसेवा र देश विकास गर्ने असल कार्यकर्ताको खाँचो रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “कार्यकर्ताको भीडले मात्र हुने भए १० लाख क्रियाशील सदस्य रहेको कांग्रेस, आठ लाख सङ्गठित सदस्य रहेको एमाले तथा ‘की मृत्यु की मुक्ति’ को नारा दिएर महिलाका काँधमा बन्दुक राखेर अघि बढेको माओवादीको हालत अहिले यस्तो हुने थिएन।”

सचेतक परियारले सुनसरी मुस्लिम, खसआर्य, जनजाति, सीमान्तकृत समुदायको सङ्गमसहितको सामाजिक समावेशिताको अनुमप उदाहरण पाइने जिल्ला हो भन्दै आगामी स्थानीय निर्वाचनमा रास्वपाले यो अनुपम उदाहरणको सम्मान गर्र्दै स्थानीय सरकारको नेतृत्व गर्नेगरी अघि बढ्ने बताए। उनले भने, “यस जिल्ला र अन्य स्थानीय तहमा आगामी निर्वाचनमा रास्वपाले नेतृत्व गर्नेछ र अहिले सङ्घ सरकारमा जसरी राम्रो काम गरेर जनताको मन जितिरहेको छ, देशका हरेक स्थानीय तहमा त्यस्तै काम गरेर जनताको घरदैलोको सरकारको भरोसा प्रदान गर्नेछ।”

ताजा अपडेट