काठमाडाै। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले मानिसको शारीरिक बनोट र जात भन्दा ठुलो उसको विचार हुने बताएका छन्।
आइतबार पाँचथरको फिदिममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई शारीरिक रूपमा टिप्पणी गर्नेहरूलाई विचार र कामको आधारमा मूल्याङ्कन गर्न चुनौती दिएका हुन्।
साम्पाङले भने, ‘कतिपयले भन्लान्, यसको त नाक थेप्चो छ, आँखा चिम्सो छ, यसको पार्टीमा किन लाग्ने ? तर म भन्छु, मेरो आँखा र नाक नहेर्नुस्, मेरो विचार हेर्नुस्। विचार र कामले मात्रै देश बनाउँछ, अनुहार हेरेर देश बन्दैन।’
उनले मानिस कुन जात वा वंशमा जन्मियो भन्ने कुरा गौण रहेको बताउँदै उसको कर्मले मात्रै समाज परिवर्तन गर्ने तर्क राखे।
आफूलाई जातीय घेरामा सीमित राख्न नहुने बताउँदै उनले आफू सबै जातजाति र समुदायको साझा मान्छे बन्न तयार रहेको उद्घोष गरे। ‘लिम्बूले मलाई लिम्बू नै हो भन्छ भने म लिम्बू हुन तयार छु, बाहुनले मलाई आफ्नै दाजुभाइ मान्छ भने म बाहुन हुन तयार छु, मधेसीले आफ्नै मान्छे मान्छ भने म मधेसी हुन तयार छु,’ साम्पाङले सुनाए, ‘मलाई कुन जातको भन्नुहुन्छ, त्यो तपाईंको आँखाको कुरा हो। तर म यो देश बनाउने एउटा श्रमदाता हुँ।’
उनले श्रम संस्कृति पार्टीले कुनै जात वा धर्म विशेषको नभई श्रमको वकालत गर्ने बताए। ‘हामी साना मान्छे हौं, तर हाम्रा विचारहरू आकाश जस्तै विशाल हुनुपर्छ। माटो छोएर श्रम गर्नेहरू कहिल्यै साना हुँदैनन्,’ उनले भने।
पार्टीको माटो चुनाव चिन्हको महत्त्वबारे सुनाउँदै उनले अबको राजनीति विकास र सुशासनमा केन्द्रित हुनुपर्ने बताए। कार्यक्रममा साम्पाङले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिने र श्रमको सम्मान गर्ने संस्कृति बसाल्ने प्रतिबद्धता समेत दोहोर्याए।


