काठमाडाैँ। परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सीमा समस्या लगायतका द्विपक्षीय हितका विविध विषयमा भारतीय पक्षसँग गहन छलफल भएको जानकारी दिए।
मन्त्री खनालले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी विवादहरूलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्न दुवै देश सहमत रहेको बताए।
‘सीमा लगायतका सम्पूर्ण द्विपक्षीय सम्बन्धका विषयमा हामीले छलफल गरेका छौँ,’ उनले भने, ‘अहिले दुवै देशका फिल्ड सर्वे टिमहरूले काम गरिरहेका छन् र बाँकी रहेका विषयलाई कूटनीतिक माध्यमबाटै टुङ्ग्याउने हाम्रो स्पष्ट अडान छ।’
भ्रमणका क्रममा कालापानी र लिपुलेकको मुद्दालाई मन्त्री खनालले प्राथमिकताका साथ उठाएको बताए। भारत र चीनले लिपुलेक हुँदै मानसरोवर यात्राको बाटो खोल्ने सहमतिका विषयमा नेपाल सरकारले यसअघि नै पठाएको कूटनीतिक नोटबारे छलफल भएको उनले जानकारी दिए।
‘हामीले हाम्रा अडानहरू स्पष्ट रूपमा राखेका छौं र भारतको तर्फबाट पनि त्यसको जवाफ आएको छ,’ मन्त्री खनालले थपे, ‘ऐतिहासिक प्रमाणहरूको आधारमा कूटनीतिक संवादमार्फत नै यसको समाधान खोजिनुपर्छ भन्नेमा हामी दृढ छौं।’
सीमा विवादमा तेस्रो पक्षको संलग्नताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री खनालले नेपालले कुनै मध्यस्थता नखोजेको स्पष्ट पारे। उनले भने, ‘हामीले तेस्रो पक्षको मध्यस्थता खोजेका हैनौं। सुगौली सन्धि लगायतका ऐतिहासिक दस्तावेजहरूका आधारमा हाम्रा सीमाहरू निर्धारण भएका हुन् र ती प्रमाणहरू जुटाउने सन्दर्भमा मात्र आवश्यक संवाद हुनसक्छ भन्ने हाम्रो धारणा हो।’
भ्रमणको सुरुवाती दिनमा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
शनिबार उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग औपचारिक वार्ता गर्दै दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।


