+

लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२४ जेष्ठ २०८३, आईतवार २०:२३

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ४० ट्याब्लेट सहित धनुषा घर भएका ३७ वर्षीय अर्मान राईनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६४८९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरीको धरान उपमहानगरपालिका-१६ भगवती स्कुल छेउबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने ३३ वर्षीय संजय कुमार सिंह र २७ वर्षीय त्रिमणी बज्रचार्य रहेका छन्। अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापाको झापा गाउँपालिका-४ मंगलबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ९० मिलिग्राम सहित कनकाई नगरपालिका-३ बस्ने ३२ वर्षीय रमेश मुसहर ऋषिदेवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका-८ फूलबारी टोल बस्ने २१ वर्षीय सबिन धिमाल समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम र नगद २५ हजार ७ सय ४० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले सबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

कञ्चनपुरको लालझाडी गाउँपालिका-१ डाँडा बिचुवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १९ वर्षीय कृष्ण रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित झापा शिवसताक्षी नगरपालिका-११ बस्ने ४७ वर्षीय अशोक कुमार बोगटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५९ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

मकवानपुरको मनहरी गाउँपालिका-८ बेलुवा डेरा गरी बस्ने बारा घर भएकी २५ वर्षीया सेहेरा खातुनलाई अवैध लागूऔषध गाँजा करिब २२ किलो ८ सय ५२ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय निश्चल गुरूङ रहेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चालक केशवलाई १४ ग्राम ७ सय २० मिलिग्राम र मोटरसाइकलमा सवार निश्चललाई ९ ग्राम ४ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।