+

हङकङलाई हराउदै नेपालले जित्यो नेपालले एशियन गेम्स छनौटको उपाधि

२५ जेष्ठ २०८३, सोमबार १६:१७

काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको रोमाञ्चक फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार १९ रनले पराजित गर्दै उपाधि जितेको छ।

सोमबार भएको फाइनल भिडन्तमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएको थियो। त्यसपछि थप खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार खेलको निर्णय लिइएको हो। वर्षा हुँदाको समयमा नेपालको डिएलएस पार स्कोर ९५ रन हुनुपर्नेमा नेपाल त्योभन्दा १९ रनले अघि रहेकाले विजयी घोषित भएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ६५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान रोहित पौडेल ३५ रन र दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे। हङकङका तर्फबाट एहसान खान र आयुष शुक्लाले समान १–१ विकेट लिए।

यो जितसँगै नेपाल कीर्तिमानी रन चेज गर्नबाट भने थोरैले चुकेको छ। यदि नेपालले खेल पूरा खेलेर १८९ रनको लक्ष्य भेट्टाएको भए यो नेपालको टी–२०आई (T20I) इतिहासकै सबैभन्दा ठूलो रन चेज हुने थियो। यसअघि सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गर्नु नै नेपालको अहिलेसम्मकै सर्वाधिक सफल रन चेज हो।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको विशाल योगफल खडा गरेको थियो। हङकङका लागि अंशुमन राथले विष्फोटक ब्याटिङ गर्दै ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ८० रन बनाए। त्यस्तै शाहिद वासिफले २८ बलमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले भने शिव माथुरले २६ रनको योगदान दिए।

एक समय १८ ओभरमा १७९ रन बनाएर बलियो स्थितिमा रहेको हङकङलाई नेपाली बलरहरूले अन्तिम दुई ओभरमा बाँधेका थिए, जसका कारण हङकङले सोचे अनुरूपको फिनिसिङ गर्न सकेन।

हङकङलाई मध्यम स्कोरमा रोक्न नेपालका स्पिनर शेर मल्लले घातक बलिङ गरे। उनले ४ ओभरमा मात्र ३२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै तेज बलर करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट हात पारे।