+

बागमती प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन, कसले पाए कुन मन्त्रालय?

७ श्रावण २०८३, बिहीबार १९:४४

हेटौँडा । बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा मन्त्रीहरूको कार्य विभाजन गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री बानियाँसहित ८ सदस्यीय मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाँड गरिएको छ।

कार्यविभाजनअनुसार शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, सुरेश श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र बिनु रायमाझी पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। यो कार्य विभाजनसँगै बागमतीमा ८ मन्त्रालय कायम भई प्रदेश सरकारले पूर्णता पाएको छ।

गत वैशाख २२ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा मात्र कायम गर्ने निर्णय गरेको थियो। साउन १ गतेबाट उक्त निर्णय लागू भए पनि सत्ता गठबन्धनका कारण मन्त्रीहरू विना विभागीय रहँदै आएका थिए। बुधबार मात्रै नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ६ जना मन्त्रीलाई सामूहिक राजीनामा गराएको थियो।

एमालेका मन्त्रीहरूको राजीनामापछि रिक्त रहेका मन्त्रालयहरूमा मुख्यमन्त्री बानियाँले यसअघि विना विभागीय भूमिकामा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूलाई जिम्मेवारी प्रदान गरेका हुन्।