+

शिक्षा, स्वास्थ्य र बिजुलीमा ‘लग्जरी कर’ लगाउनु गलत : गगन थापा

३१ जेष्ठ २०८३, आईतवार १९:२०

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ (विलासिता कर) लगाउने प्रस्ताव उपयुक्त नभएको बताएका छन्।

पार्टीद्वारा आइतबार आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला’ कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले आय करमा केही सहुलियत दिए जस्तो गरे पनि अन्य शीर्षकमा करको भारी बोकाएको आरोप लगाएका हुन्।

महामन्त्री थापाले वर्तमान अवस्थामा निजी विद्यालय र अस्पतालमा सेवा लिनु मानिसको ‘रहर’ नभई ‘बाध्यता’ भएको स्पष्ट पारे। उनले भने, ‘निजी विद्यालयमा बच्चा पढाउनु र निजी अस्पतालमा उपचार गराउनु अहिलेको अवस्थामा विलासिता होइन। सरकारी विद्यालय र अस्पतालको अवस्था सुधार्नुको साटो निजीमा गएको भन्दै कर लगाउनु न्यायोचित हुँदैन।’

सरकारी सेवाको गुणस्तर र सहज पहुँच सुनिश्चित नभएसम्म निजी क्षेत्रबाट सेवा लिने नागरिकलाई करको दायरामा पार्नु गलत भएको उनको भनाइ छ।

थापाले सरकारको कर नीतिप्रति व्यङ्ग्य गर्दै भने, ‘सरकारले अगाडिको गोजीमा सहुलियत दिएको जस्तो देखाएर पछाडिको गोजीबाट सुटुक्क कर असुलिरहेको छ।’

कार्यक्रममा महामन्त्री थापाले पार्टीका सांसदहरूलाई बजेटमाथि संसद्‌मा छलफल गर्दा ‘क्रमिक सुधार’ र ‘संरचनागत सुधार’ बीचको भिन्नता छुट्ट्याएर आफ्ना धारणा राख्न निर्देशन दिएका छन्। नागरिकले सेवा पाउन नसकेको अवस्थामा करको भार मात्रै थोपर्ने सरकारी प्रवृत्तिको विरोध गर्न उनले सांसदहरूलाई आग्रह गरे।