+

सुशासन र तीव्र विकास नै जनताको चाहना : राष्ट्रपति पौडेल

१ असार २०८३, सोमबार १३:५०

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि सङ्घर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना सुशासन, प्रभावकारी सेवा प्रवाह, तीव्र आर्थिक विकास, शान्ति र प्रगति भएको बताएका छन्।

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले जनताको यो चाहना र अभिष्ट पूरा गर्नका लागि आधुनिक समयअनुरूप हाम्रो राज्य संयन्त्रलाई अझ जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउनु आवश्यक रहेको धारणा राखे।

कर्मचारीतन्त्र स्वउत्प्रेरित, अनुशासित, आचरणशील, नैतिकवान् र राष्ट्रप्रति समर्पित भएमा मात्र यो भूमिका परिणाममुखी हुने स्पष्ट पार्दै उनले प्रविधि र स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको मन जितेर लोकतन्त्रमा जनताको हित हुन्छ भन्ने भरोसा जगाउनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले नेपालको संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुरूप स्थापित योग्यता प्रणालीको रक्षा गर्नु र यसको जगलाई थप मजबुत बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए।

आयोगले अवलम्बन गरेको सिद्धान्त र निष्पक्ष प्रणालीकै कारण देशका मेहनती युवाहरूले लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित देख्न पाएको यथार्थलाई बिर्सन नहुने उनको भनाइ थियो।

उनले आयोगले विगतमा हासिल गरेका अनुभव र ज्ञानका साथै विश्वव्यापी रूपमा विकसित आधुनिक सिद्धान्त र प्रणालीको अध्ययन गरी आफ्नो कार्यसम्पादनलाई भविष्यमा थप परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने विश्वास समेत व्यक्त गरे।

लोकसेवा आयोग सरकारी सेवाका लागि योग्य कर्मचारी छनोट र भर्ना गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील संवैधानिक निकाय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सधैँ असल र उम्दा जनशक्ति भित्र्याउनका लागि आयोगले आफ्ना कामकारबाहीलाई आधुनिक प्रविधिमा आधारित बनाउनुपर्ने औँल्याए।

कर्मचारी छनोटमा समयसापेक्ष एवं वैज्ञानिक परीक्षण विधि र प्रविधि अवलम्बन गर्नुपर्ने तर्फ विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो। कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा आयोगले स्थापनाकालदेखि आजसम्म पुर्‍याएको योगदान प्रशंसनीय रहेको चर्चा गर्दै उनले यो ऐतिहासिक विश्वास, भरोसा र प्रतिष्ठालाई आगामी दिनमा अझ उचो बनाउन विशेष मेहनत गर्नुपर्ने बताए।

कार्यक्षेत्र विस्तारसँगै आयोगले आफ्ना कार्यसम्पादनलाई प्रविधिमैत्री, वैज्ञानिक, व्यवस्थित र गुणस्तरीय राख्दै भावी योजनाहरू तय गर्नुपर्ने चुनौती रहेको तर्फ राष्ट्रपतिले सचेत गराए।

उनले यस वार्षिकोत्सवको अवसरलाई विगतका कामहरूको वस्तुनिष्ठ समीक्षा गर्ने र भावी चुनौतीहरू सामना गर्ने गरी योजनाबद्ध रूपमा अघि बढ्ने माध्यम बनाउन सुझाव दिए।

राज्य सञ्चालनको स्थायी सरकारका रूपमा रहने योग्य कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको लोकसेवा आयोगले साढे सात दशकभन्दा लामो अवधिमा योग्यता, निष्पक्षता र स्वच्छता जस्ता मूल सिद्धान्तको जगमा रहेर काम गर्नु आफैँमा गौरवको विषय भएको उनको भनाइ थियो।

निष्पक्षता र योग्यता नै कर्मचारी छनोटको उच्चतम कसी भएको र यही मूल्याङ्कनको अन्तर्यलाई आत्मसात् गरेकै कारण आयोगप्रतिको जनविश्वास अटुट रहेको स्पष्ट पार्दै उनले यो भरोसालाई अझ सुदृढ र सबल बनाउन निरन्तर प्रयत्नशील रहन आग्रह गरे।

ताजा अपडेट