भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरिरहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार केही दिनदेखि चिनियाँ नागरिकहरूको समूहले विभिन्न एप्स तथा वेबसाइटमार्फत नेपालमा निषेधित क्रिप्टोकरेन्सी कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब १ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले बाइनान्स, ओकेएक्स, इनटोकन, पेटिएम, भीम, मोबिक्विक र फोनपे लगायतका एप्स तथा वेबसाइट प्रयोग गरी अभौतिक मुद्रा कारोबार गरिरहेका थिए।
पक्राउ पर्नेमा ४९ वर्षीय सियोङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ चिउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र दुई थान ल्यापटप बरामद गरेको जनाएको छ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानुनी घोषणा गरेको छ। पक्राउ परेका चिनियाँ नागरिकहरूमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।


