चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया तीव्र रूपमा अघि बढेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार नयाँ पदाधिकारी तथा सदस्य चयनका लागि गएरातिदेखि नै पहिलो चरणको मतदान सुरु भइसकेको छ र यो प्रक्रिया आज दिउँसो १२ः०० बजेसम्म जारी रहनेछ।
चितवनको उद्योग संघस्थित प्रदर्शनी केन्द्रमा भइरहेको यस मतदानमा हालसम्म करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कूल ९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। यसमध्ये खुलातर्फ ६४ सिटका लागि २१० जना र भूगोलतर्फ ३५ सिटका लागि १७४ जनाको उम्मेदवारी परेको छ। भूगोलअन्तर्गत प्रत्येक प्रदेशबाट ५–५ जनाका दरले सातवटा प्रदेशबाट कुल ३५ जना निर्वाचित हुनेछन्।
भूगोलतर्फका कुल १७४ उम्मेदवारहरूमध्ये लुम्बिनी र कर्णाली प्रदेशमा सबैभन्दा बढी अर्थात् ३१-३१ जनाको उम्मेदवारी परेको छ। त्यसैगरी बागमती र गण्डकी प्रदेशमा २७–२७ जना, मधेस र कोशी प्रदेशमा २०-२० जना तथा सुदूरपश्चिम प्रदेशमा १८ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान सम्पन्न भएको दुई घण्टाभित्रै मतपरिणाम घोषणा गरिनेछ र त्यसको लगत्तै दोस्रो चरणको मतदान प्रक्रिया सुरु हुनेछ, जसमा सबै प्रतिनिधिहरूले पार्टीका प्रमुख पदाधिकारीहरू चयनका लागि मतदान गर्नेछन्।


