+

जापानमा गयाे ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

११ असार २०८३, बिहीबार १६:०१

उत्तरी जापानमा बिहीबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अओमोरी प्रान्तको हासिकामी सहरमा जापानको भूकम्पीय मापन प्रणालीमा दुर्लभ मानिने ‘अपर ६’ तीव्रता रेकर्ड गरिएको छ । जापानको यो मापन प्रणालीमा अधिकतम तीव्रता ७ सम्म रहने गर्छ ।

भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन । यसको हल्का धक्का राजधानी टोकियोमा पनि महसुस गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सी (जेएमए)का अनुसार, भूकम्पको केन्द्रविन्दु इवाते प्रान्तको तटीय क्षेत्रमा जमिनको सतहबाट ५० किलोमिटर गहिराइमा थियो । अओमोरी प्रान्तको हाचिनोहे सहरमा ‘लोअर ६’ र इवाते प्रान्तका केही सहरमा ‘अपर ५’ तीव्रता मापन गरिएको छ ।

भूकम्पका कारण तोहोकु सिन्कान्सेन बुलेट ट्रेन लाइनअन्तर्गत सेन्डाई र अओमोरीबीचको सेवा स्थगन गरिएको छ । त्यहाँको प्रधानमन्त्री कार्यालयले भूकम्पपछि विशेष टास्क फोर्स गठन गरेको छ ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले सुनामीको कुनै खतरा नरहेको बताइन् । उनले प्रभावित क्षेत्रका बासिन्दालाई यस्तै प्रकृतिको अर्को भूकम्प आउन सक्ने सम्भावनाप्रति सतर्क रहन आग्रह पनि गरिन् ।

हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । उक्त क्षेत्रमा रहेका आणविक ऊर्जा केन्द्रमा पनि कुनै समस्या देखिएको छैन ।