काठमाडौँ । होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानुन बमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।
सरकारका विभिन्न निकाय र प्रहरीहरूले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दबाब दिएको उनीहरुको गुनासो छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित भएका हुन् ।


