+

उत्पादनको होइन, उधारोको संकट : तीन करोड रुपैयाँ उधारो असुल्न संघर्षरत आरजु राइस मिलको कथा

१६ असार २०८३, मंगलवार ११:३१

काठमाडौं। नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावपूर्ण चरणबाट गुज्रिरहेको छ।

एकातिर किसानहरू आफ्नो उत्पादनको उचित मूल्य पाउन संघर्ष गरिरहेका छन् भने अर्कोतिर स्वदेशी उद्योगीहरू गुणस्तरीय नेपाली चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने कडा प्रयासमा छन्।

किसानले समयमा मल र बीउ नपाउने पुरानो समस्या त छँदै छ, तर पछिल्लो समय धान किनेर उपभोक्तासम्म चामल पुर्‍याउने उद्योगीहरूले अर्को एउटा गम्भीर र नयाँ चुनौतीको सामना गरनुपरेको छ।

पूर्वी नेपालको मोरङस्थित प्रसिद्ध आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बहादुर बस्नेतका अनुसार अहिले समग्र धान–चामल उद्योगको सबैभन्दा ठूलो संकट उत्पादन, बजार वा कच्चा पदार्थ नभएर बजारको उधारो कारोबारमा अड्किएको पूँजी बन्न पुगेको छ।

वार्षिक करिब १५ अर्ब रुपैयाँ बराबरको ठूलो कारोबार गर्ने क्षमता भएको आरजु राइस मिलको मात्रै अहिले काठमाडौँ, पोखरा जस्ता विभिन्न प्रमुख सहरका होलसेलर तथा रिटेलरहरूबाट करिब तीन करोड रुपैयाँ उठ्न बाँकी रहेको पीडा बस्नेतले सुनाएका छन्।

बजारबाट बेलैमा रकम नउठ्दा उद्योगलाई कानुनी र प्रशासनिक प्रक्रियाको सहारा लिनुपरेको छ। चामल अन्तिम उपभोक्ताको भान्सासम्म पुग्दा सतप्रतिशत नगदमा बिक्री हुने भए पनि उपभोक्ताले तिरेको त्यो पैसा बीचका व्यापारीहरूको तहमा आएर अड्किँदा उद्योगीहरूको सम्पूर्ण पूँजी नै थुनिने अवस्था सिर्जना भएको छ।

यही खराब प्रवृत्तिका कारण उद्योगीहरूले आफ्नो व्यवसाय विस्तार र उत्पादनको गुणस्तर सुधारमा ध्यान दिनुको सट्टा ऊर्जा र अमूल्य समय उधारो रकम असुलीकै झन्झटिलो काममा खर्च गर्नुपरिरहेको छ।

नयाँ सरकार बनेपछि बजार र प्रशासनिक क्षेत्रमा केही सहजीकरण भएको अनुभव गरिए पनि उधारो असुलीको पाटोलाई अझ प्रभावकारी बनाउन राज्यले विशेष कदम चाल्न आवश्यक देखिएको छ।

सामान लगेर पैसा नतिर्ने र उद्योगीलाई झुलाउने व्यापारीहरूलाई प्रहरी प्रशासनमार्फत तत्काल बोलाएर भुक्तानी गराउने वा आवश्यक परे छिटो कानुनी कारबाही गर्ने बलियो संयन्त्र बनेमा उद्योगीहरूले ठूलो राहत पाउने बस्नेतको विश्वास छ।

अहिले सुरुवाती चरणमा देखिएको ३ करोड रुपैयाँको यो उधारो समस्यालाई समयमै सम्बोधन गर्न नसकिए भविष्यमा यो अर्बौँ रुपैयाँमा रूपान्तरण भई समग्र औद्योगिक क्षेत्र नै धराशायी हुन सक्ने खतरा छ।

त्यसैले यसलाई एउटा उद्योगको मात्र व्यक्तिगत समस्या नमानी समग्र राष्ट्रिय व्यापारिक प्रणालीकै चुनौतीका रूपमा लिएर आगामी दिनमा उद्योगीहरूको साझा अभियानका रूपमा अघि बढाउने तयारी भइरहेको छ।

यस्तो विकराल उधारो समस्याका बीच पनि आरजु राइस मिलले किसानहरूसँगको आफ्नो व्यावसायिक सम्बन्धलाई भने सधैँ प्राथमिकतामा राखेको छ। उद्योगले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य बमोजिम नै किसानहरूबाट सिधै धान खरिद गरिरहेकाले उत्पादनको मूल्यलाई लिएर किसान तहमा कुनै असन्तुष्टि नरहेको दाबी सञ्चालक बस्नेतको छ।

वार्षिक ३० देखि ३५ हजार टनसम्म धान प्रशोधन गर्ने क्षमता भएको यस मिलले अब चामल उत्पादनमा मात्रै सीमित नरही प्रशोधनपछि निस्कने कनिका र राइस ब्रानलाई पूर्ण रूपमा उपयोग गर्ने गरी पूरक उद्योग स्थापना गर्ने नयाँ योजना समेत अघि बढाएको छ, जसले उत्पादनको पूर्ण उपयोग गर्दै थप मूल्य अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

उद्योगी बस्नेतले स्वदेशी चामलको उपभोग बढाउनुपर्नेमा विशेष जोड दिएका छन्। नेपाली चामल गुणस्तरका हिसाबले विदेशी वा आयातित चामलभन्दा कत्ति पनि कमजोर नभएको र उत्पादन भएको खेतसम्म सहजै ‘ट्रेस’ गर्न सकिने भएकाले यसमा विषादीको अवस्थाबारे स्पष्ट र भरपर्दो जानकारी लिन सकिन्छ।

स्वास्थ्यका दृष्टिले पनि भातभन्दा रोटी सधैँ राम्रो भन्ने परम्परागत धारणा वैज्ञानिक रूपमा सही नभएको र चामल पूर्ण रूपमा ‘ग्लुटेन–फ्री’ खाद्य पदार्थ भएकाले सन्तुलित मात्रामा नेपाली चामल सेवन गर्न उनले सुझाव दिएका छन्।

पहिलेजस्तो थालभरि भात मात्रै खाने संस्कार बदलिँदै गएकाले आवश्यक मात्रामा सन्तुलित आहारका रूपमा नेपाली चामललाई दैनिक भोजनमा समावेश गर्नु उपयुक्त हुन्छ।

नेपालमा उत्पादित चामलले मूल्य र गुणस्तर दुवैमा विदेशी उत्पादनलाई सहजै टक्कर दिन सक्ने भएकाले नेपाली उपभोक्ताले स्वदेशी उत्पादन रोजेमा किसान, उद्योग र राष्ट्रिय अर्थतन्त्र तीनै पक्षलाई प्रत्यक्ष लाभ पुग्नेछ।