+

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

१९ असार २०८३, शुक्रबार १६:३८

काठमाडौँ । सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारी र त्यहाँ पुग्ने सेवाग्राहीलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को सेवा इकाई सञ्चालनमा आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको भुइँतलामा उक्त सेवा इकाई स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

कार्यस्थलमै प्रारम्भिक स्वास्थ्योपचार र परीक्षणको व्यवस्था मिलाउने सरकारको यो कदमलाई निजामती प्रशासनभित्र सकारात्मक रूपमा हेरिएको छ ।

मन्त्रालयका अनुसार कर्मचारीहरूले सामान्य स्वास्थ्य जाँच तथा परीक्षणका लागि पनि कार्यालय नै छोडेर अस्पतालसम्म धाउनुपर्ने बाध्यतालाई कम गर्न यो इकाई स्थापना गरिएको हो । सिंहदरबारभित्रै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूको समय बचत हुने र सेवा प्रवाहमा समेत अवरोध नआउने विश्वास लिइएको छ ।

साथै, मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा दिनानुदिन बढ्दै गएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थित गर्न र भीडभाड कम गर्नसमेत यो मन्त्रालयस्तरीय इकाईले सघाउने मन्त्रालयको भनाइ छ ।

नयाँ सञ्चालनमा आएको सेवा इकाईबाट प्रारम्भिक स्वास्थ्य जाँच, रगत परीक्षण र आकस्मिक एवं सामान्य स्वास्थ्य समस्याका लागि आवश्यक चिकित्सकीय परामर्श उपलब्ध हुनेछ ।