+

नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा ६ उपसमिति गठन

२८ असार २०८३, आईतवार १८:४६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आफ्नो सांगठनिक कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ ६ वटा उपसमिति गठन गर्दै संयोजकहरूको चयन गरेको छ।

प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा गत असार २५ र २६ गते सम्पन्न प्रतिष्ठानको पाँचौँ बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै ती उपसमितिहरूमा संयोजकहरूको जिम्मेवारी तोकेको हो। प्रतिष्ठानका प्रमुख शर्माको प्रस्तावमा बैठकले विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई जिम्मेवारी सुम्पिएको छ।

प्रतिष्ठानले अपांगता, संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्थलाई जिम्मेवारी दिएको छ भने आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा रेशम गुरुङलाई चयन गरेको छ।

त्यसैगरी, दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनार, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई चयन गरिएको छ।

प्रतिष्ठानका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा प्रतिष्ठानको भूमिकालाई अझ बढी गतिशील र जनमुखी बनाउने विषयमा केन्द्रित रहेर गहन छलफल भएको थियो।