+

५० हजार कर्मचारीलाई कामबाट निकाल्ने फक्सवागनको सङ्केत

२९ असार २०८३, सोमबार १६:११

जर्मनीको प्रमुख सवारीसाधन निर्माता कम्पनी फक्सवागनले विश्वव्यापी रूपमा अरू झन्डै ५० हजार रोजगारी कटौती गर्न सक्ने सङ्केत दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ओलिभर ब्लुमले कर्मचारीहरूलाई पठाएको आन्तरिक सन्देशमा प्रतिस्पर्धी कम्पनीहरूको लागत संरचनासँग बराबरी गर्न थप खर्च कटौती आवश्यक रहेको उल्लेख गरेका छन् ।

रोयटर्सले प्राप्त गरेको उक्त आन्तरिक सूचनाअनुसार फक्सवागनले यसअघि नै आफ्ना पोर्श र आउडीसहित विभिन्न सहायक कम्पनीहरूमा ५० हजार रोजगारी कटौती गर्ने सहमति गरिसकेको छ ।

तर कम्पनीको लागत अझै पनि प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा करिब २० प्रतिशत बढी रहेको मूल्याङ्कनपछि थप संरचनात्मक सुधार आवश्यक देखिएको ब्लुमले बताएका छन् ।

उनका अनुसार यही लागत अन्तरलाई आधार मान्दा सैद्धान्तिक रूपमा विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था देखिएको छ । यद्यपि यो अन्तिम निर्णय नभई प्रारम्भिक गणना मात्र भएको उनले स्पष्ट पारेका छन्।

ब्लुमले कम्पनीका सबै ब्रान्ड, सहायक कम्पनी र विभिन्न क्षेत्रीय कार्यालयमा आवश्यक समायोजनको समीक्षा भइरहेको जानकारी दिएका छन् ।

वास्तवमा कति रोजगारी कटौती आवश्यक र सम्भव हुन्छ भन्ने विषयमा विस्तृत मूल्याङ्कन भइरहेको उनको भनाइ छ ।