+

एकै दिनमा चार हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फर्किए

२९ असार २०८३, सोमबार १६:१४

कागजातविहीन विदेशी नागरिकलाई आफ्नो देश फर्किन दबाब बढिरहेका बेला छिमेकी मुलुकबाट अफगानी शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बनेको छ ।

यसै क्रममा आइतबार एकै दिन चार हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएको सरकारी समाचार संस्था ‘बख्तर न्युज एजेन्सी’ले सोमबार जनाएको छ । समाचारअनुसार, ७९० अफगान शरणार्थी परिवारका चार हजार १०० सदस्य आइतबार अफगानिस्तान फर्किएका हुन् ।

फर्किएका परिवारमध्ये ७७२ परिवारलाई सीमा नाकामा आवश्यक सहयोग उपलब्ध गराई सम्बन्धित प्रान्तमा पठाइसकिएको र बाँकी १८ परिवारलाई पनि छिट्टै गृह प्रान्त पठाइने बख्तरले जनाएको छ ।

स्वदेश फर्किएका अधिकांश शरणार्थी पाकिस्तानबाट आएका हुन्। दशकौँदेखि लाखौँ अफगान शरणार्थीलाई आश्रय दिँदै आएका पाकिस्तान र इरानले पछिल्लो समय कागजातविहीन विदेशी नागरिकलाई आफ्नो भूभाग छाड्न आग्रह गर्दै आएका छन् ।

यसअघि अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले गत महिना ७६ हजार १८१ अफगान शरणार्थी स्वदेश फर्किएको जानकारी दिएका थिए। उनका अनुसार स्वदेश फिर्ती प्रक्रिया निरन्तर जारी छ ।

अफगान अधिकारीहरूका अनुसार सन् २०२१ को अगस्टमा वर्तमान सरकार सत्तामा आएयता ८० लाखभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किसकेका छन् ।