+

जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द

३० असार २०८३, मंगलवार ०७:२३

चितवन । अविरल वर्षा र पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठक बसी सुरक्षाको दृष्टिकोणले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि उक्त क्षेत्रमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

सडक डिभिजन भरतपुरका अनुसार हिजो साँझदेखि मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको थियो । हिजो बेलुका अबेरसम्म पहिरो पन्छाएर बिच बाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधनहरूलाई गन्तव्यतर्फ पठाइएको भए पनि वर्षा नरोकिएकाले जोखिम कायमै रहेको छ ।

आज बिहान ६:३० बजेको अपडेट अनुसार, यस सडक खण्डको जलबिरे नजिकै फेरि पहिरो झरेको छ । उक्त पहिरो हटाउनका लागि सम्बन्धित स्थानमा मेशिनहरू परिचालन भइसकेको सडक डिभिजनले जानकारी दिएको छ ।

निरन्तरको वर्षाले गर्दा सो क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने उच्च जोखिम रहेकाले प्रशासनले  वैकल्पिक मार्गको प्रयोग गर्न वा अर्को सूचना नआउन्जेल सुरक्षित स्थानमा रहन यात्रुहरूलाई सूचित गरेको छ ।