धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद् हेरफेर र कार्य विभाजन गरिएको स्पष्ट पारेका छन्। नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री शाहले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गरेर वर्तमान मन्त्रिपरिषद्को हेरफेर तथा कार्य विभाजन गरेको छु। यसलाई जिम्मेवारी हेरफेर र कार्य विभाजनको सन्दर्भमा लिइएको निर्णयका रूपमा बुझिदिन आग्रह गर्छु।’
गत असार १ गते बजेट प्रस्तुत भएपछि सत्ता साझेदार एमालेसँग विभिन्न चरणमा संवाद भएको र हालसम्म पनि संवाद जारी रहेको उनले बताए। बजेटका प्राविधिक त्रुटिहरू सच्याएर समझदारीका साथ अघि बढ्न पटक-पटक आग्रह गर्दा पनि एमालेले ठोस निर्णय नदिएपछि मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको उनको भनाइ छ।
आगामी असार ३२ गतेभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक समयसीमाबारे प्रश्न गर्दा मुख्यमन्त्री शाहले भने, ‘भोलिसम्म हामीसँग समय छ, त्यसपछि पनि संवैधानिक र कानुनी प्रावधानभित्र रहेर नै सरकार अगाडि बढ्छ।’
एमालेसँगको सहकार्य टुटेको र अन्य दलहरूसँग नयाँ गठबन्धन हुने चर्चाका सम्बन्धमा उनले स्पष्ट पार्दै भने, ‘वर्तमान परिवेशमा सबैसँग संवाद गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो। एमालेसँग संवाद पूर्ण रूपमा टुटेको छैन। बजेट पास गर्ने सन्दर्भमा एमाले र अन्य दलहरूसँग पनि संवाद गरेर सबैलाई एक ठाउँमा ल्याउने प्रयास जारी छ।’


