+

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

३१ असार २०८३, बुधबार २०:५५

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेटसम्बन्धी बाँकी प्रक्रिया पूरा गरिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई आज पदमुक्त गरेपछि आयोजित पत्रकार सम्मेलनमा उनले संविधानले दिएको अधिकारअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर गरिएको र बाँकी काम पनि सोहीअनुसार अघि बढाइने बताए।

मुख्यमन्त्री शाहले बजेटका सम्बन्धमा केही प्राविधिक त्रुटि भएको सरकारबाट स्वीकार गरिसकिएको उल्लेख गर्दै त्यसको समाधानका उपायबारे छलफल भइरहेको जानकारी दिए।

सत्तासाझेदार एमालेबाट ठोस जवाफ नआएपछि संविधानले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गरिएको उनको भनाइ थियो।

उनले बिहीबारभित्र बजेट पारित गरिसक्नुपर्ने संवैधानिक समयसीमा रहेकाले सबै पक्षसँग छलफल गरी संविधानबमोजिम निष्कर्षमा पुगिने बताए।

मुख्यमन्त्री शाहले एमालेसँग संवाद पूर्ण रूपमा नटुटेको उल्लेख गर्दै बजेट पारित गर्ने विषयमा एमालेसहित अन्य दलसँग पनि छलफललाई निरन्तरता दिइने बताए। सबै पक्षलाई एक ठाउँमा ल्याएर संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार बजेट पारित गरिने उनले स्पष्ट पारे।

मुख्यमन्त्री शाहले आजै एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए।